इसिडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छः शिक्षामन्त्री

राष्ट्रिय शिक्षा/स्वास्थ्य

शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माइतीघर मण्डलामा उभिएर विरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गर्नुभएको छ ।

सोमबार शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्र सुधारका लागि सरकारलाई दबाब दिन उभिँदै आउनुभएका चापागाईंसँग भेट गर्नुभएको हो । इसिडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे मागसहित उनले प्रदर्शन गरिरहेका छन् ।

माइतीघरमा पुगेर चापागाईंलाई भेटेसँगै शिक्षामन्त्री भट्टराईले आफू चालु आर्थिक वर्षको बजेट बनाइसकेपछि आएकाले आफ्नो योजना बजेटमा राख्न नसकेको बताउनुहुँदै यस वर्ष आवश्यक नरहेको कार्यक्रमलाई विपदमा लैजान सकिने भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा लगेको बताउनुभयो ।

इसिडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाई काम गरिरहेको जानकारी दिनुभयो । उहाँले दरबन्दीबारे पुनरावलोकन भइरहेको बताउनुभयो । पालिकाको शिक्षा योजना र शिक्षा कोर्ष बिना सांसदहरू नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको जिकिर गर्नुभयो । हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

गत जेठमा चापागाईं काठमाडौंको माइतीघरमै १९ दिनसम्म उभिएर आन्दोलन गर्नुभएको थियो । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उहाँको माग पूरा गर्ने आश्वान दिनुभएको थियो । तर माग सम्बोधन नभएपछि उहाँले फेरि उभिएर आन्दोलन थाल्नुभएको हो । उहाँलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमिति सभापति अम्मरबहादुर थापाले समेत भेट गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *