कृषिको नेता राम्रै छ भन्ने सुनेको थिएँ, धानचाहिँ नफल्ने भो !

कृषि-पर्यटन

भक्तपुरको दुवाकोटमा तीन वर्षदेखि धान खेती गरिरहेका कृषक नारायणदास श्रेष्ठले यसपालि युरिया मल हाल्न पाएनन् । रोपाइँ गर्नुपूर्व नै मल अभावबारे जानकार श्रेष्ठ रोपाइँ गरिसकेपछि मल आइपुग्छ भन्ने कृषिमन्त्रीको अश्वासनबाट विश्वस्त थिए । तर उनले धान रोपेको ४५ दिन नाघ्यो, मल पाएनन् ।

श्रेष्ठको खेतमा यसपटक युरिया मलबिनै धान हुर्किँदै छ । समयमै मल हाल्न नपाउँदा धान फल्ने उनलाई विश्वास छैन । ‘बजारमा मल आएको छैन भन्छ, युरिया हाल्न नपाएर धान सप्रिएको छैन,’ श्रेष्ठले अनलाइनखबरसँग भने, यसपालि पोहोरजति फल्दैन ।’

कृषि कार्यालयमा किन्दा प्रतिबोरा ९५० रुपैयाँमा पाइने युरिया मल कालोबजारीमा बढी मूल्य तिरेर किन्न पाइने सुनेको श्रेष्ठ बताउँछन् ।

किसानले ३० रुपैयाँमा किलोमा खरिद गर्न सक्ने मल ५५ रुपैयाँसम्म बिक्री भइरहेको श्रेष्ठको गुनासो छ । मल अभावका कारण गत वर्षभन्दा आधा मात्रै पनि धान फलिदिए पनि ठूलो भाग्य हुने श्रेष्ठले बताए ।

मूलपानी मनोहरा खोलाको फाँटमा धान र तरकारी खेती गरिरहेका राजनकुमारको बस्नेतको पीडा पनि उस्तै छ । ‘धान र तरकारीमा हाल्न यस वर्ष युरिया मल नपाएको बस्नेतले बताए । ‘बजार धाइयो, धेरैलाई हात जोडियो, तर युरिया मल कतै पाइएन,’ बस्नेतले भने ।

बढी पैसामा तिरेर केही चिनेका कृषकले मल किनेको तर खास किसानका लागि बजारमा मल पाइने अवस्था नबनेको उनले दुःखेसो सुनाए ।

दुवाकोटबेसींकै फाँटमा धान गोडिरहेकी पञ्चमाया श्रेष्ठले मल अभावका कारण अर्को वर्ष खेती नगर्नेसम्मको घरसल्लाह भएको सुनाइन् ।

भाडाको जमिनमा एक दशकदेखि गरेको खेतीमा यस वर्षजस्तो मल अभाव कहिल्यै नभएको पञ्चमायाले सुनाइन् । ‘खेतीका लागि युरिया मल रक्तसञ्चार जस्तै हो । तर, सरकारले कृषकको कुरा सुनेन’ पञ्चमायाले भनिन्, ‘खाई-नखाई गरेको श्रमबाट फल नलाग्दा हाम्रो मन दुखेको छ, सरकारलाई यो कुरा थाहा होस् ।

भक्तपुरकै कृषक मिठ्ठेबहादुर जिरेलले मल नपाउँदा धानको बिउ माटोमै सुकेको बताए । उनले भने ‘धान रोपेको १०/१२ दिनमा युरिया नछरे कामै लाग्दो रहेनछ, धान पहेँलो भएको छ, यस वर्षको दुःख खेर गयो ।

पसलमा मल किन्न जाँदा सस्तो मल कोलकातामा भएको जवाफ पाएको उनले गुनासो गरे । युरिया मल नपाए पनि महंगो गेडे मल भने बजारमा प्रशस्त पाइएको जिरेलले बताए । व्यापारीहरुले नाफा खान महंगो मल बिक्री गरेर सस्तो मल लुकाएको उनको बुझाइ छ ।

दुवाकोटकै धानखेतमा भेटिएकी मैयादेवी भण्डारीले पाँच रोपनी जमीनमा लगाइएको खेतमा मल प्रयोग गर्न नपाएको गुनासो गरिन् । ‘सबै जमीनमा गाई र कुखुराको मल हालेर खेती गरिएको छ, रसायनिक मल नहुँदा धानको रोपोले गाँज हालेको छैन,’ भण्डारीले भनिन् ।

गत वर्ष ५० मुरी धान फलेको खेतमा यसपालि आधा पनि धान नफल्नेजस्तो देखिएको उनले सुनाइन् । ‘कृषिका नेता त राम्रै छन् भन्ने सुनेको, तर धान चंै नफल्ने भो,’ भण्डारीले कृषिमन्त्री घनश्याम भुसालतर्फ लक्षित गर्दै भनिन् ।

किसानलाई शोषकले चुसेको र किसान मर्ने अवस्थामा पुगेको भन्दै उनले गरिबले पेट पाल्न नसक्ने अवस्था सिर्जना भएको बताइन् ।

बजारमा मल अभाव हुनुको मूल्य कारण लकडाउन र कोरोनाको नाममा भएको बहानाबाजी नै मुख्य कारण भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्क छ ।

देशभर मल अभाव भएको विषयमा मन्त्रालय जानकार रहेको र मल छिटो प्राप्तिका लागि सबै उपायहरु अपनाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरिबहादुर केसी बताउँछन् । कोलकाताबाट बिराटनगर र वीरगञ्जका लागि ठूलो परिमाणमा मल आउने क्रममा रहेको डा. केसीले दाबी गरे ।

‘हिजोमात्रै कोलकाताबाट ८ वटा ट्रकमा चार सय ५० बोरा मल विराटनगरका लागि हिडेको र त्यो मल अहिले भागलपुरमा आइपुगेको छ, उनले भने, २५ सय मेटि्रक टन मल रेलमार्फत वीरगञ्ज आउँदै गरेको छ । कोलकाता पोर्टमा आइपुगेको ३२ हजार मेटि्रक टन मल करीब दुई हप्तामा नेपाल आइसक्छ ।’

यस्तै साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनी लिमिटेडले खरिद गरेको ७० हजार मेटि्रकटन मल फ्याक्ट्रीमा प्याक भइरहेको र भदौ अन्तिममा नेपाल भित्रिइ सक्ने मन्त्रालयको दाबी छ । ‘कोभिडलाई कारण देखाएर कम्पनीले मल उत्पादन गरेन, ठेक्का सम्झौतामा ढिलाइ भयो, शिपमेन्ट र बन्दरगाहमा देखिएको समस्याले पनि अप्ठ्यारोमा पर्‍यौं’, मन्त्रालयका प्रवक्ता डा केसीले भने ।

तत्कालका लागि केही समस्या देखिए पनि किसानले अबको केही साताभित्रै मल पाउने उनको भनाइ छ । मन्त्रालयले अब मल चाँडै आउँछ भन्दाभन्दै मकैमा मल लगाउने सिजन सकिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *