खानेपानी आयोजनाको क्षति सार्वजनिक

राष्ट्रिय

असोजको दोस्रो साता आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित र निर्माणाधीन गरी साढे दुई सयभन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ सिन्धुपाल्चोकले बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा रहेका २३५ वटा योजनामा क्षति पुगेको तथ्याङ्क आएको जनाएको हो । डिभिजन प्रमुख सृष्टि ख्वालापालाले बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा बागमती प्रदेश सरकार र स्थानीय सरकारबाट निर्माण भएका २३५ वटा योजनामा क्षति पुगेको तथ्याङ्क प्राप्त भएको बताउनुभयो । उहाँले कार्यालयमा सङ्घीय सरकारको लगानीमा निर्माण भएका आयोजनाको क्षतिको विवरण प्राप्त नभएको बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोबाट सबैभन्दा बढी रोसी गाउँपालिकाभित्रका ४७ योजना, बेथानचोक गाउँपालिकाका ३४ वटा, नमोबुद्ध नगरपालिकाभित्रका ३२, पनौती नगरपालिकाका ३२, तेमाल गाउँपालिकाका २७ र धुलिखेल नगरपालिकाका १७ वटा योजनामा क्षति पुगेको छ । त्यस्तै बनेपा नगरपालिकाका छ वटा, भुम्लु गाउँपालिकाका नौ, चौरीदेउराली गाउँपालिकाका तीन, खानीखोला गाउँपालिकाका सात, महाभारत गाउँपालिकाका चार, पाँचखाल नगरपालिकाका आठ र मन्डनदेउपुर नगरपालिकाका नौ वटा खानेपानी आयोजनामा क्षति पुगेको डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजन प्रमुख ख्वालापालाले क्षति भएका योजनाका लागि कार्यालयमा हालसम्म ४७१.५९ किलोमिटर अर्थात् चार लाख ७१ हजार ५९५ मिटर विभिन्न साइजको पाइपको माग आएको बताउँदै माग अनुसारको पाइप वितरणका लागि २० करोड १९ लाख ८५ हजार रुपियाँ बजेट आवश्यक पर्ने बताउनुभयो । कार्यालयले बाढीपहिरोका कारण नमोबुद्ध नगरपालिकामा निर्माणाधीन दाप्चा काशीखण्ड खानेपानी आयोजना, कानपुर खानेपानी आयोजना, उदीन ढुङ्गा खानेपानी आयोजना र खनालथोक खानेपानी आयोजनामा सबैभन्दा बढी क्षति भएको जनाएको छ । त्यस्तै पनौती नगरपालिकाको पस्थली बृहत् खानेपानी आयोजना, खानीडाँडा खानेपानी आयोजना, गगल खानेपानी आयोजना, ¥याले खानेपानी आयोजना, चौरीदेउराली गाउँपालिकाको चौरीखोला पाथीभरा खानेपानी आयोजना, रोसी गाउँपालिका र बेथानचोक गाउँपालिका अन्तर्गतका विभिन्न योजनामा बढी क्षति पुगेको छ ।

बाढीपहिरोपछि क्षतिग्रस्त खानेपानी आयोजना तत्काल सञ्चालनका लागि प्रदेश सरकारमार्फत प्राप्त भएको ७८ हजार २७ मिटर पाइप १११ वटा आयोजनाका लागि र सङ्घीय सरकारमार्फत प्राप्त भएको ४६ हजार एक सय मिटर पाइप २३ वटा योजनाका लागि वितरण गरिएको छ । त्यस्तै युनिसेफ नेपालबाट प्राप्त भएको मग, बाल्टिन, हाइजिन किट, प्युस, ब्लिचिङ पाउडरसहितको दुई हजार सेट पनौती, बेथानचोक, नमोबुद्ध, रोसी र तेमाल गाउँपालिकालाई हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । असोज दोस्रो साता आएको बाढीपहिरोका कारण तेमाल बृहत् खानेपानी, धुलिखेल खानेपानी, पाँचखाल सहरी खानेपानी आयोजना, काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालगायतका सङ्घीय सरकारको लगानीमा निर्माण भएका करिब एक दर्जन आयोजनामा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *