रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार बुटवल आउने भएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले पाल्पा र रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका हुन्।
प्रधानमन्त्री ओलीले बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्नेछन्। त्यहाँबाट हेलिकप्टरमार्फत बिहान १२स्१५ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइपुग्ने कार्यक्रम तय गरिएको छ।
ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन समुद्घाटन गर्ने र त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित १,१२६ मिटर लामो सुरूङ मार्गको ब्रेकथ्रु कार्यक्रममा विशेष सहभागिता जनाउने छन्।
सुरूङमार्ग पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ। आयोजनाको मुख्य सुरूङ ब्रेकथ्रु प्रधानमन्त्रीको उपस्थितिमा हुनेछ।
सुरूङ मार्ग बनेपछि बुटवलदेखि लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले सुरूङमार्ग ब्रेकथ्रु उत्सवपछि बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन्। दिउँसो २ बजे बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित कार्यक्रममार्फत यो खण्डको शिलान्यास गर्नेछन्।
सडक विभागले बुटवल–गोरुसिंगे खण्डको ५० किलोमिटर सडकलाई दुई चरणमा स्तरोन्नति गर्ने योजना अघि बढाएको छ। यसमध्ये पहिलो चरणमा २५ किलोमिटर खण्डको शिलान्यास प्रधानमन्त्री ओलीले गर्नेछन्।
निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले लिएका छन्।
सडक स्तरोन्नतिको क्रममा यातायात अवरोध नहुने गरी काम अघि बढाइने आयोजना प्रमुख कुशलता न्यौपानेले बताइन्। निर्माण कम्पनीले आवश्यक उपकरण, ल्याब, क्रसर, र कंक्रिट बनाउने स्थान निर्माण गरिसकेको छ।
जंगल क्षेत्रको सडक खण्ड २४ मिटर चौडाइको चार लेनको हुनेछ भने बजार तथा बस्ती क्षेत्रमा सर्भिस लेनसहित ६ लेनको सडक निर्माण गरिनेछ। सहरी क्षेत्रमा सडकको चौडाइ ५० मिटर रहनेछ। ठूला चोकमा अन्डर पास र ओभर पासको सुविधा उपलब्ध गराइने योजना रहेको छ।