बाँकेमा मुस्लिम समुदायका १७ हजार बालबालिका विद्यालय बाहिर

राष्ट्रिय

नेपालगन्ज, पुस १६ गते। मुस्लिम समुदायको ठुलो जनसंख्या रहेको बाँके जिल्लामा १७ हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ।

मुस्लिम आयोगले सोमबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा मुस्लिम बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेकाले उनीहरूको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न मुस्लिम समुदायका अगुवाको भूमिका आवश्यक रहेको कुरामा जोड दिइएको छ।

कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार साजिद अलि सिद्दिकीले बाँकेमा १६ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको जनाउँदै जिल्लाका ४० हजार ५३४ जना मुस्लिम बालबालिका मात्रै स्कुल जाने गरेको र १७ हजार ३७२ जना बालबालिका अझै पनि विद्यालय शिक्षाबाट बञ्चित रहेको बताउनुभयो।

उहाँले मुस्लिम समुदायमा अधिकांश बालिकालाई सात कक्षापछि विद्यालय नै नपठाउने हुँदा धेरै बालिका शिक्षाबाट बन्चित रहेको बताउनुभयो।

बर्दिया जिल्लामा पनि विद्यालयबाट बाहिर रहेका मुस्लिम समुदायका बालबालिकाको संख्या ठूलो रहेको सिद्दिकीले बताउनुभयो। बर्दियामा मुस्लिम समुदायमा सात हजार १७४ बालबालिका रहेकोमा चार हजार ३०४ जना मात्रै विद्यालय जाने गरेको र दुई हजार ८७० जना विद्यालयबाट बाहिरै रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको अवस्था दयनीय भएको उल्लेख गर्दै शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो। उहाँले समुदायका अगुवा र मुस्लिम इमामले यसमा विशेष ध्यान दिएर समुदायलाई सचेत पार्नुका साथै अवसर उपलब्ध गराउन अधिकतम प्रयास गर्नुपर्ने बताउनुभयो।

इमामको काम नमाज पढाउने मात्रै नभई समयानुकुल मुस्लिम समुदायलाई अगाडि बढाउन विभिन्न सचेतनामूलक प्रवचन दिनुपर्ने भएको आयोगका अध्यक्ष अन्सारीको भनाइ थियो।

उहाँले मुस्लिम समुदायभित्र शिक्षा, स्वास्थ्य र समाजमा पहुँच बढाउन आवश्यक भएकोमा जोड दिँदै आयोगले सरकारलाई सो बारेमा प्रश्न गर्दै आएको सो अवसरमा जानकारी दिनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले यस क्षेत्रका मुस्लिम बालबालिका तथा युवाको शैक्षिक अभिवृद्विका लागि पाँच करोड बराबरको बजेट भएको भन्दै आगामी दिनमा बजेट बढाउँदै जाने बताउनुभयो।

प्लान इन्टरनेसनल र बाँके युनेस्को क्लबसँगको सहकार्यमा मुस्लिम आयोगले आयोजना गरेको सो कार्यक्रममा आयोगका सदस्य मिर्जा अरशद वेग, प्लान इन्टरनेशनल नेपालका नीति तथा पैरवी म्यानेजर इरसाद अन्सारी, राष्ट्रिय किशोरी सञ्जालकी सहसचिव रहमत जहाँ खान, शैक्षिक क्षेत्रका अगुवा नागरिक अगुवा आलम खाँ र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर लगायतले मुस्लिम समुदायका इमामले समुदायलाई सचेत पार्न विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

साजिद अलि सिद्विकीले मुस्लिम युवा तथा बालबालिकाको शिक्षा र उवेदुर रहमान खाँले मुस्लिम धर्मशास्त्र तथा इमामको भूमिकाका बारेमा सो अवसरमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत र कैलालीबाट करिब ६० जना मुस्लिम इमामहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *