जनकपुरधाम । माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मतगणना भइरहेका बेला मतपत्रमा पानी फ्याँकिएपछि मधेश प्रदेशको गणना रोकिएको छ ।
मधेश प्रदेशमा एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको थियो । विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएको आरोप जनार्दन शर्मानिकट विद्यार्थी नेताहरूको छ । सापकोटा शक्ति बस्नेत समर्थित हुन् । तर, सापकोटा पक्षले भने हेमन्त राई पक्षले मतपत्र च्यात्न खोजेको र नसकेपछि पानी फालेको आरोप लगाएको छ ।
मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार नारायणकाजी श्रेष्ठ पक्षका उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् ।