मनाङमा मनाइयो तमू ल्होसार

राष्ट्रिय

काठमाडौं, पुस १५ । मनाङका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमू ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमू ल्होसार भनिएको हो ।

तमू ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । गुम्बामा गएर पूजाआजा गर्ने, बत्ती बाल्ने, आफन्त तथा साथीभाइहरुसँग भेटघाट गर्ने, नाचगान गरी रमाइलो गरी ल्होसार मनाउने चलन रहेको गौरीशंकर निमाविका प्रधानाध्यापक कमल गुरुङले बताउनुभयो ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको उहाँले बताउनुभयो । ल्होसार भनेको नयाँ वर्ष हो । हाल विक्रम संवतको पुस महिनाको १५ गते मनाइने चलन छ । तमू ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ वर्ष सुरु भएको सङ्केत गर्दछ ।

विशेषगरी तमू ल्होसार अघिल्लो साँझदेखि नै मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी मध्यरातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै) भोज खुवाएर बडो धुमधामका साथ मनाइने गरिन्छ ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै मौलिक भेषभूषा लगाएर सजिन्छन् । अन्य जातले जस्तै गुरुङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, तमूहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, साथीभाइहरू (ङोलो ङोल्स्यो) सँग रमाइलो गर्छन् ।

तमू पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरूको विभिन्न जनावरको नामबाट नामकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्रअनुसार थाहा पाउन सकिन्छ ।

तमू ल्होसार सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको मनाङ, लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वत लगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किंवदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *