काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् ।
प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् ।
प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन ।
उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मङ्गलवार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको सालिक अनावरण गर्नेछन् ।
दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभा हलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए ।
प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यमिक विद्यालयमा शिक्षकको नियुक्ति लिएका थिए । नियुक्ति पत्र लिएर सदरमुकाम म्याग्लुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।