काठमाडौं । वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने एमालेको निर्णयबारे आफू अहिलेसम्म स्पष्ट नभए पनि ‘सहकार्य का निम्ति एउटा टीम खटाएको गौतमले बताएका छन् ।
गौतम संयोजकत्वको एकता अभियान र एमालेको एकता हुने चर्चाका बीच मङ्गलवार एमाले सचिवालय बैठकले ‘सहकार्य गर्दै जाने’ निर्णय गरेको थियो । उक्त निर्णयले एमाले सकारात्मक भएको बुझे पनि जिम्मेवारी व्यवस्थापन के हो भन्ने अन्यौलता कायमै राखेको संयोजक गौतमले बताए ।
नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘सहकार्य गर्नलाई आज बिहानै केही साथीहरू गइसक्नु भयो, उहाँहरूलाई टेबुल-कुर्सी तयार पारेर सहकार्य गर्न भनेको छु’ ।
‘सहकार्य’ अन्तर्गत जिम्मेवारी व्यवस्थापनसहितका अन्य विषयको निरूपण हुने अनुमान गरेका छन् ।
‘नाचेर हुन्छ कि गाएर हुन्छ, सहकार्य गर्नुस् र निष्कर्षमा पुग्नुस् भनेको छु’, उनले भने ।
‘तपाईँचाहिँ कहिले जाने ?’, नेपाल प्रेसको यो प्रश्नमा उनले भने, ‘पहिला सहकार्य गर्ने कुरा आयो, त्यसपछि एकता होला नि !’