वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

अपराध राष्ट्रिय

काठमाडौं, माघ १५ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने २४ वर्षीया विशाखा पौडेल रहेका छन् ।

पक्राउमध्ये सुनिलले सर्विया पठाइदिछु भन्दै एक जना पीडितबाट २२ लाख ३८ हजार, विकाशले जापान पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट तीन लाख, सुरेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट ९७ लाख ५४ हजार र विशाखाले कुबेत पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख ६० हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पैसा लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई काठमाडौं टेकुबाट, सुरेन्द्रलाई काठमाडौं महानगरपालिका–१४ बाट र विशाखालाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार तथा विकाशलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट सोमबार पक्राउ गरेको हो ।

पक्राउमध्ये सुनिल, विकाश र विशाखालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *