संसारमा जति पनि धार्मिक सम्प्रदायहरू छन् ती सबै कुनै न कुनै महापुरुषबाट नै प्रतिपादित हुन्छन् । वैष्णव मतमा रामानुज, निम्बार्क, प्रभुपाद आदि, शैव मतमा नाथ, अघोरी, पाशुपत जस्ता सम्प्रदायहरू सबै महापुरुषको विचारबाट जन्मिएको सम्प्रदाय हो ।
धर्मशास्त्रमा एउटा मान्यता छ, ‘गद्दीमा बस्दैमा कोही महापुरुष बन्दैन, महापुरुष बसेपछि कुनै आसन गद्दी बन्ने गर्छ ।’ त्यही आसनलाई गद्दी बनाउने श्रीकृष्णले महाभारतलाई ओझिलो बनाए । महाभारतको भीष्म पर्वको संक्षिप्त अंश हो श्रीमद्भागवत गीता । यसमा श्रीकृष्णले दिएको जीवनोपयोगी उपदेशलाई संग्रह गरिएको छ । त्यही गीता अहिले विश्वमा १२०भन्दा धेरै भाषामा अनुवाद भइसकेको छ ।
महाभारतका अनुसार युद्धको तयारी अन्तिम चरणमा थियो । सकेसम्म महाभारत युद्ध रोक्न दुवै पक्षसँग उनले सक्दो कोसिस गरेका थिए । पटकपटकको प्रयास असफल भएपछि युद्ध अवश्यम्भावी छ भन्ने निचोड निकालेर भगवान् श्रीकृष्ण आफ्नो कुटीतिर लागे । त्यतिबेलासम्म श्रीकृष्णले कुनै पनि पक्षमा आफ्नो झुकाव देखाएका थिएनन् ।
केही समयपटि आराम गरिरहेका श्रीकृष्णलाई भेट्न युधिष्ठिर र दुर्याेधन एकैपटक कुटीमा पुगे । त्यतिबेलासम्म कृष्ण चिरनिद्रामा थिए । उनीहरू श्रीकृष्ण जागाहुने समय कुरेर बसिरहेका थिए । युधिष्ठिर सुतिरहेका श्रीकृष्णको खुट्टतिर बसे भने दुर्याेधन शिर भागतिर बसे । जतिबेला श्रीकृष्ण जुरुक्क उठे आफ्नो खुट्टाको भागमा युधिष्ठिर बसेर खुट्टा समाइरहेको अवस्थामा देखे ।
त्यसपछि श्रीकृष्णले युद्धलाई एकातर्फ १० हजार हतियारसहितको सेना र अर्काेतर्फ आफू एक्लै सहयोग गर्नसक्ने प्रस्ताव अघि सारे । प्रस्ताव रोज्ने पालो दुर्याेधनकोे आयो । उनले १० हजार सेना रोजे । त्यहीँ समयबाट श्रीकृष्ण पाण्डवको पक्षबाट महाभारत युद्धमा खटिए ।
अर्जुनको अनुराग
महाभारतको पात्र बनेर महापुरुष बनेका होइनन् । एउटा नयाँ सिद्धान्त र दर्शनका कारण उनले आफ्नो कीर्ति फैलाएका हुन् ।
पथिकहरू कथित उल्झन झेलिएका हुन्छन् । त्यही उल्झनबाट मुक्त गराउने दर्शन नै कृष्ण दर्शन हो । अनुराग(आशक्ति) उल्झनको आरम्भिक स्तर हो । गीतामा श्रीकृष्ण अर्जुनलाई नै अनुराग मान्छन् । जतिबेला आफ्नो कुलधर्म सम्झिएर अर्जुनले युद्धबाट हात झिक्ने कोसिस गर्छन् त्यतिबेला श्रीकृष्णले अर्जुनलाई नै अनुराग देख्छन् ।
सत् गृहस्थलाई आश्रममा गएपछि ग्लानी हुने र कण्ठ अवरुद्ध हुन्छ भने त्यहीँबाट भक्तिको आरम्भ हुन्छ भन्ने श्रीकृष्ण दर्शनको ज्ञान हो । मानिस कर्मयोग, भक्तियोग र ज्ञान योगको मार्गबाट मुक्त हुन सक्छ । यही नै श्रीकृष्णको मुख्य ज्ञानको सार हो ।
अनुरागको पहिलो चरण पारिवारिक मोह हो । यो नै मान्छेको लक्ष्य प्राप्तिमा बाधक बन्छ भन्ने कृष्ण दर्शनको सार हो । पथिकहरू जुन धर्मकर्ममा काम गर्छन् त्यसैमा सन्तुष्टि मान्छन् । त्यस्ता पथिकहरू सफल हुँदैनन् भन्ने गीता दर्शनको मत छ ।
कुरीतिका विरोधी श्रीकृष्ण
श्रीकृष्ण हामीमा रहेको भ्रम नै सबैभन्दा ठूलो दोष हो भन्छन् । यथार्थ गीताको दोस्रो अध्यायमा भनिएको छ, ‘हामी धर्मको नाममा कुरीतिलाई बोक्ने गर्छाैं ।’
सम्प्रदाय र कुरीति पहिले पनि थियो र अहिले पनि छ भन्ने मान्यता शास्त्रवेत्ताहरूको छ । त्यसैमध्येको एक अर्जुन पनि कुरीतिको शिकार थिए । उनलाई चारवटा कुरामा शंका थियो । पहिलो यसरी कुल धर्म बिर्सिएर गरेको युद्धका कारण सनातन धर्मको नष्ट हुन सक्छ, दोस्रोमा यो युद्धका कारण वर्णसंकर पैदा हुन्छ, तेस्रोमा पिण्डोदक क्रिया लोप हुन सक्छ र अर्जुनले बोकेको चौथो शंका भनेको हामीमाथि उद्दत क्रिया गर्ने संकल्पको लोप हुन सक्छ भन्ने थियो । त्यही शंकालाई नै श्रीकृष्णले समाधान गर्ने कोसिस गरेका थिए ।
मद्का विनाश गर्नेवाला भगवान् श्रीकृष्णले गीतामा अर्जुनलाई भनेका छन् ‘अर्जुन ! यो विषम स्थलमा तिमीलाई यो अज्ञान कहाँबाट आयो ? पारलौकिक र निर्विवाद स्थानमा तिमीलाई यो अज्ञान कहाँबाट आयो ? यो केवल अज्ञान हो, कुनै पनि पुरुषले यसलाई राम्रो मान्दैनन् । यो न त स्वर्ग पाउनेवाला कर्म हो । आरुढप्रति प्रतिबद्ध भएर जो कर्म गर्छ, त्यो आर्य हो । परिवारप्रति मरिमेट्नु यदि अज्ञानता होइन भने सबै महापुरुष त्यही मार्गमा लागिसकेका हुन्थे ।’ यसरी श्रीकृष्णले अर्जुनलाई कुल धर्म नै सबै कुरा होइन भन्नेमा विश्वास दिलाउने प्रयोस गरेका छन् ।