सुन्तला र कागति खेतीबाट वार्षिक २० लाख आम्दानी

राष्ट्रिय

गैँडाकोट –११ का गुप्तप्रसाद रेग्मी व्यावसायिक किसानको रुपमा स्थापित हुनुभएको छ । २०७५ मा गैँडाकोट –१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेती सुरु गर्नुभएका उहाँले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी फलफूल खेती गर्दै आउनुभएको छ ।

सुन्तला, कागति र निबुवाको व्यावसायिक खेती गरेर राम्रो आम्दानी भएको उहाँ बताउनुहुन्छ । विसं २०७५ मा १० बोट सुन्तला लगाउनुभएका रेग्मीको फार्ममा अहिले १५ सय सुन्तलाका बोट छन् । रेग्मीले फार्ममा लगाउनुभएको फलफूल बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन सुरु गरेका छन् ।

गत वर्ष सुन्तलाबाट दुई लाख, कागतीबाट चार लाख र निबुवाबाट डेढ लाख आम्दानी भएको उहाँले बताउनुभयो । अहिले करिब एक हजार सुन्तलाको बोटबाट तीन लाख, कागतीबाट ६ लाख र निबुवा (चुक–अमिलो) बेचेर आठ लाख आम्दानी भएको रेग्मीले बताउनुभयो । केही निबुवा (चुकअमिलो) बेच्न बाँकी रहेको उहाँले बताउनुभयो ।  अझै सुन्तला, कागती र निबुवा भएकाले फलफूलका बिरुवाबाट २० लाख आम्दानी हुने अपेक्षा गरेको बताउनुभयो ।

पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित हुनु भएका रेग्मी पटक–पटक वैदेशीक रोजगारीतर्फ गए पनि त्यहाँ पनि बस्न नसकेपछि उहाँ स्वदेश नै फर्किनुभयो । रेग्मीले पाँच वर्षअघि १३ रोपनी १४ आना जग्गाबाट सुरु गर्नुभएको फलफूल खेतीको क्षेत्रफल अहिले ८२ रोपनी क्षेत्रफलमा फलफूल खेती गर्नुभएको छ ।

उहाँले सुरुमा ५० हजार प्रतिरोपनीका दरले जग्गा किनेको बताउनुभयो । अहिले रेग्मीको फार्ममा सुन्तलाको एक हजार पाँचसय बोटबिरुवा, कागतीका आठसय, निबुवाका तीनसय, मौसमका दुईसय, किन्नुका (माघको अन्तिमतिर पाक्ने फलफूज प्रजाति) एकसय, आँखे टिमुरका एकसय, लप्सीका ६० बोटबिरुवाका साथै स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बिरुवा छन् ।

पहिला उहाँले खेती गरेको ठाउँमा पुग्न बाटोको समस्या रहे पनि अहिले बाटो सहज हुँदा आउजाउ गर्न सजिलो भएको रेग्मीले बताउनुभयो । गाउँमा पानीको समस्या भएका कारण रेग्मीले पाँचसय मिटर तल खोलाबाट लिफ्टिङ गरी माथि पानी तान्नुभएको छ । लिफ्टिङ गरेर माथि तानेको पानी जम्मा गर्न एक लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गरेको बताउनुभयो ।

सबै ठाउँमा पानी पुग्नेगरी ब्लक निर्माण गरेर थोपा सिँचाइमार्फत फलफूलका बोटबिरुवा सिँचाइ गर्दैआएको उहाँको भनाइ छ । सुन्तला जोनबाट लिफ्टिङका लागि चार लाख १५ हजार प्राप्त भएको बताउनुभयो ।

त्यस्तै सुन्तलाजोनबाट लिफ्टिङ गरेको पानी जम्मा गर्नका लागि ट्याङ्की निर्माण गर्न दुई लाख अनुदान पाएको उहाँले बताउनुभयो । जग्गा विस्तारपछि बाँकी जमिनमा सिँचाइ गर्न थोपा सिँचाइका लागि सुन्तला जोनबाट ८५ प्रतिशत अनुदान पाएको उहाँको भनाइ छ । फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान, औषधी छर्ने ट्याङ्की तथा औजारमा ५० प्रतिशत अनुदान पाएको रेग्मीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *