बुधबारदेखि भक्तजनहरुका लागि पशुपतिनाथ मन्दिर खुल्ने

धर्म -संस्कृति राष्ट्रिय

नौ महिनासम्म भक्तजनका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि गखुल्ने भयको छ ।

प्राचीनकालदेखि नियमित रूपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान क्षमा पूजा हुने भएको छ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ।मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ।

मन्दिर बुधबारदेखि खुले पनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरू हुनेछैन।

‘महामारीको संकटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौं, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौं’,उनले भने।

चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन्। मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसल पनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब ७० करोड रुपैयाँ घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।

नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो। महामारीलगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गरेका कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले बताए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *