मनमोहन स्मृति प्रतिष्ठानले स्वर्गीय मनमोहन अधिकारीको २७औँ स्मृति दिवसको अवसरमा ‘राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले देशभरका कवि तथा स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले स्वर्गीय मनमोहन अधिकारीको जीवनसंघर्ष, सादगीपूर्ण नेतृत्व, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र समतामूलक समाज निर्माणको दृष्टिलाई साहित्यमार्फत नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले निर्धारित समयसीमाभित्र कविता पठाउन आग्रह गर्नुभएको छ ।
प्रतियोगितामा सहभागी कविता मनमोहन अधिकारीको जीवन, योगदान र विचारलाई केन्द्रमा राखेर लेखिएको हुनुपर्नेछ। कविता नेपाली भाषामा प्रिति फन्टमा कम्प्युटर टाइप गरिएको तथा अधिकतम १५० शब्दभित्र एकै लयमा तयार गरिएको हुनुपर्नेछ । रचना पूर्ण रूपमा मौलिक र यसअघि कुनै पनि माध्यममा प्रकाशन वा प्रसारण नभएको हुनुपर्नेछ ।
कुनै व्यक्ति, जाति, लिंग, समुदाय, धर्म, भाषा वा क्षेत्रप्रति अपमानजनक वा अश्लील अभिव्यक्ति प्रयोग गरिएको कविता स्वीकार गरिने छैन । मापदण्ड नपुगेका तथा ढिला आएका रचना स्वतः अयोग्य हुने जनाइएको छ ।
प्राप्त कविताहरूलाई कोडिङ प्रणालीमार्फत गोप्य रूपमा मूल्यांकन गरिनेछ । उत्कृष्ट तीन कविलाई २०८३ वैशाख १२ गते काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा कविता वाचन गर्ने अवसर प्रदान गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेलाई प्रमाणपत्रसहित ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
इच्छुक स्रष्टाहरूले २०८२ चैत २० गतेभित्र मनमोहन स्मृति प्रतिष्ठानको कार्यालय, सानेपा, ललितपुरमा कविता बुझाउन वा इमेलमार्फत पठाउन सक्नेछन् ।
इमेल: manmohanmf@gmail.com
सम्पर्क नम्बर: ०९८४४४४६६९९ / ९८५११६२६४५
प्रतिष्ठानले सम्पूर्ण साहित्यप्रेमी तथा स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी भई स्वर्गीय मनमोहन अधिकारीप्रतिको सम्मान अभिव्यक्त गर्न अनुरोध गरेको छ ।
