युरिया मल नपाएपछि किसानको आक्रोश

कृषि-पर्यटन

रुपन्देहीको ओमसतिया–५ पट्खौलीका किसान आशिष चौधरीको परिवारको खर्च धान्ने मुख्य आम्दानीको स्रोत धान खेती हो ।

पाँच बिघा खेत भएका चौधरी रोप्ने बेलामा राम्रो वर्षा भएको र मल पनि पाइएकाले धान उत्पादन बढ्ने आशामा थिए । तर झार गोडेपछि युरिया राख्ने समय घर्किन लाग्दा पनि मल नपाएपछि अहिले उनी निराश बनेका छन् ।

खेतमा झार गोडिसकेपछि उत्पादन बढाउन सामान्यतः धान रोपेको एक महिनामा खेतमा युरिया मल राख्नुपर्ने हुन्छ । तर युरियासहित सबैखाले रासायनिक मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामग्री केन्द्रको प्रादेशिक डिपो भैरहवामा एक बोरा पनि युरिया मल छैन । धान रोपेको दुई महिना पुग्न लाग्दा पनि सरकारी निकायबाट मल नपाएपछि रुपन्देहीसहित तराईका किसानले खेतमा मल राख्न पाएका छैनन् । मल नपाउँदा आशिष चौधरीजस्तै अधिकांश किसान धान उत्पादन र आम्दानी घट्ने चिन्तामा छन् ।

कतिपय किसान भारतबाट लुकिछिपी ल्याइएको मल महंगोमा किनेर प्रयोग गर्न बाध्य छन् । विगतमा पनि कृषि सामग्री केन्द्रले मागअनुसार मल उपलब्ध गराउन नसक्दा किसानले भारतबाट विभिन्न माध्यमबाट आएको मल किनेर प्रयोग गर्ने गर्थे । तर यो वर्ष त कोरोना महामारीका कारण दुवै देशमा लकडाउन र निषेधाज्ञा जारी भएकाले भारतबाट विगतमा जसरी मल आउन पाएको छैन । छिटफुट रुपमा आएको मल पनि प्रहरीले गाउँ–गाउँ पुगेर नियन्त्रणमा लिई भन्सार चलान गर्ने गरेको छ । बुधबार मात्रै रुपन्देही प्रहरीले रोहिणी गाउँपालिकाबाट दुईजनाको घरबाट ७६ बोरा मल बरामद गरेर लग्यो । त्यस क्रममा स्थानीय र प्रहरीबीच केहीबेर तनाव पनि भयो ।

कानूनी हिसाबले भन्सार छलेर ल्याइएको मल बरामद गर्नु प्रहरीको कर्तव्य भएपनि किसानहरु यो मान्न तयार छैनन् । बरु किसानहरु प्रहरीले ‘घुस’ नपाएका कारण किसानले किनेर ल्याएको मल खोसेर अमानवीय काम गरेको आरोप लगाउँछन् । राष्ट्रिय कृषक महासंघका केन्द्रीय अध्यक्ष रहेका ओमसतियाका अगुवा किसान देव धवल आक्रोश पोख्दै भन्छन्, ‘धानमा मल राख्न ढिला भइसक्यो, सरकारले न आफूले मल उपलब्ध गराउंँछ, न किसानले आफैं जोहो गरेको मल राख्न दिन्छ ।’

किसानले धानमा छर्नका लागि जोहो गरेको भारतीय मल प्रहरीले कानुनी दाउपेच देखाइ घर–घरमा खानतलासी गरेर कब्जा गर्नु सरासर गलत भएको धवलको धारणा छ ।

किसानलाई युरिया मल उपलब्ध गराउने जिम्मेवारी पाएका सरकारी निकायलाई मल दिन नसकेको र कालोबजारी गरेको आरोपमा कृषि मन्त्रीलगायत सम्बन्धित सबैलाई कारबाही गर्न उनले माग गरेका छन् । ‘कारबाही गर्न नसके हातमा चुरा लगाए बस तर अबोध कृषकलाई सताउने काम बन्द गर,’ धवलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *