अढाई वर्षपछि संसदले पायो उपसभामुख- कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

राष्ट्रिय

लामो समयदेखि खाली रहेको संसदको उपसभामुख पद अन्ततः सत्तारुढ दल कांग्रेसको पोल्टामा परेको छ । कांग्रेसकी सांसद पुष्पा भुसाल एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुख निर्वाचित भइन् ।

आज भएको चुनावमा खसेकाे ‍‍ २४२ मध्ये १४८ मत ल्याउँदै भुसाल विजयी भएकी हुन् । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए । पराजित एमालेकी भट्टराईले ९३ मत ल्याइन् । उनलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो ।

कांग्रेसले यस अघि २०७४ सालमा पनि पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो। तर उनी नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्। २०२८ सालदेखि राजनीतिमा सक्रिय पुष्पाले कांग्रेसमा लामो समय महिला विभाग र कानुन विभागमा काम गरेकी थिइन्। उनले कांग्रेस भातृ संगठन नेपाल महिला संघमा महासचिवको रुपमा समेत काम गरेकी थिइन्। २०५६ मा प्रतिनिधि सभा उम्मेदवार बने पनि पुष्पा पराजित भइन् भने २०६४ सालको संविधान सभामा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन्। २०७० सालको निर्वाचनमा भने उनी पराजित भएकी थिइन्। त्यस्तै उनी २०७४ सालको निर्वाचनमा भने उनी समानुपातिक तर्फको सूचीमा बसेकी थिइन्। राजनीतिमा सक्रिय हुनुअघि पुष्पा अध्यापनमा समेत संलग्न थिइन्। उनले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी थिइन्। उनी वरिष्ठ अधिवक्ता समेत हुन् ।

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा नयाँ उपसभामुखको निर्वाचन हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *