आफन्तलाई खुल्ला पत्र

जीवनशैली

आदरणीय आफन्त तथा माया गरेर चिन्ता व्यक्त गर्नुहुने अनि हाम्रो बारेमा धेरै चासो राख्नुहुने महान व्यक्तित्वहरु,

सर्वप्रथम त तपाई सबैमा हृदयदेखि आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु कि, तपाईहरु बिना पारिश्रमिक यती दत्तचित्त अनि लगनशील भै हाम्रो चियोचासो अनि कुराहरु काट्न जो लागि पर्नु भएको छ ।

कस्ले कुन उमेरमा विवाह गर्नु पर्थ्यो कुन उमेर सम्म नगरी बसेकोछ भन्दै नानाथरी कुरा बनाउदै काट्दै हिड्नु भएको छ । छोरीहरुको २०-२१ वर्ष पुग्न नपाउँदै घरमा विवाहको लागि प्रस्ताव आउन थाल्छन । त्यो सामान्य कुरा हो। अनि आफ्नी छोरीको विवाह त्यही उमेरमै गर्न चाहिनहाल्नु चाहिँ बुवा-आमाको र स्वयम् छोरी को खुशी । घरमा आफ्ना बुवाआमाले भन्दा पहिले छोरी हुर्केको र विवाहको लायक भएको कुरा त आफन्त र समाजका अन्य व्यक्तिलाई पो चासो र हतार हुदो रहेछ ।‘मंसिर त गयो है अब वैशाखमा त बाजा बजाउने होला नि ? बिहे भोज कहिले खाने ? घुम्टो ओढ्न बुढी भैएन ? बिहे नगरी बुढीकन्या बस्ने हो कि के हो?अब नि नगरे कहिले गर्ने ?’ कोहि भेट्यो की यस्तै प्रश्नहरु ! मानौं मैले बिहे नगरेर उनीहरुलाई ठूलै समस्या खडा भएको छ । मेरो बिहे भए उनीहरुको सबै बोझ समाप्त हुन्छ जस्तो । सबैका सवाल सुन्दा त ओहो ठूलै अपराध गरिरहेछुकी जस्तो हुन्छ । मानसिक तनाव थपिन्छ ।विवाह गर्ने कि नगर्ने वा कहिले गर्ने या कस्तो मान्छे संग गर्ने भन्ने व्यक्तिगत खुसी र चाहनाको विषय हो भनेर क–कसलाई सम्झाउने । आफन्त र साथीसंगीले सुझाव दिनु त ठिक हो तर बारम्बार एउटै प्रश्न वा सुझाव मनोवैज्ञानिक त्रास बन्दो रहेछ ।

घरमा सधै जसो विवाहको कुरा आउँछ । मेरा आफन्त तपाईहरुले मेरो नै राम्रो सोचेर होला सायद विवाहको कुरा ल्याउनु भएको । अनि निक्कै संबेदनसिल भएर प्रस्तुत हुनु भएको पनि पाएको छु भने कोहिले चाहिँ कतै कोहि नपाएर विवाह नगरी बसेको जस्तै ठान्नु हुनेरहेछ क्यारे त्यस्तै व्यबहार दर्साउनु हुने । बिहे गरेर कोहि पराया संग मैले हो जीवन बिताउने अनि आफुले जीवन बिताउने जस्तो कुरामा मैले पनि केही सोच विचार गर्न पाउनु पर्छ होला नि हैन ? यो मान्छे संग मेरो जीवन कट्दैन भन्ने लाग्दा त्यो विवाहको प्रस्ताव अस्वीकार गर्न पनि त मैले नै पाउछु होला नि हैन ? भलै आफुले लिएका सबै निर्णय सहि नहोलान तर पनि जीवन जिउने त म आफैले हो नि हैन र ?


‘मैले भनेको केटा राम्रो छ । असल छ। फेरी तिमीले त्यस्तो असल केटा कहिले पनि पाउदैँनौ ।अब नि बिहे नगरे कहिले गर्ने ? विवाह गर्ने उमेर भइसकेको छ । बुढी कन्या भएपछि कसले पत्याउँछ ? उमेर गएपछि पछुतो मान्नु पर्ला नी ? यस्ता कुरा सुन्दा रनन्न हुन्छ । विवाह गर्ने उमेर कति हो ? विवाह उमेर पुगेर गर्ने वा सक्षम भएर ? विवाहका लागि मन, विचार मिल्न कत्तिको आवश्यक छ ? यो कुरा तपाईहरु कहिले बुझ्नु हुन्छ ! फेरि विवाह गर्ने भनेरै त आएका प्रस्ताव उपर मनन गरिने होनि यदि त्यस्तो नभएको भए त ठाडो अस्वीकार गरिन्थ्यो होला नि हैन र?

अझ तपाईं शिक्षित वर्गहरु नै यो विषयमा धेरै अगाडी हुनुहुन्छ ज्यादै खुसी लाग्छ शिक्षाको यती एउटा सदुपयोग गर्ने बाटो भेट्नुभएको छ अरुको कुरा कट्ने ।
अर्को कुरा हजुरहरुको चाडैं विवाह भएर आफ्ना आमा बुवा संग धेरै समय बिताउन पाउनु भएन होला या हजुरहरुका सन्तानको छिटै विवाह गर्दिनु भयो होला त्यसको मतलब यो त होइन नि उनीहरु जस्ले आफू अविवाहित रहि आफ्ना आमाबुवा संग लामो समय जीवन बिताउन पाएर समाज बर्बाद गरे ! यो सौभाग्य त कमैले प्राप्त गरेको हुन्छन् जस्ले आफ्ना जन्मदाता संग जीवन को लामो समय संगसंगै बिताउन पाएका हुन्छन् जुन मैले पाए । यस्को मतलब यो होइन कि विवाह पछि पाईदैन, झन २ परिवारको मायामा बाच्न पाईन्छ त्यो त व्यक्तिमा भर पर्छ कस्ले कसरी जिउछ। कोहि विवाह अगि या पछि चाहेर पनि जन्मदाता को वात्सल्य बिना जिउनु पर्ने बाध्यता छ भने कोहि त्यो साथ लत्याएर पनि जिएका छन । सबैको नसिब काहा उस्तै हुन्छ र। फ़ेरि “जन्म,मृत्यु ,विवाह” जस्ता कुरा पहिले नै तय भएका या भनौ लेखिएका हुन्छन् भन्ने पनि त हजुरहरु नै हो नि हैन र? अनि यदी पहिले नै तय भएको हुन्छ भने मेरो पनि त पक्कै तय भएकै छ होला नि ! बस त्यो समय आउन बाकी होला नि हैन त ?

जसरी जन्म मृत्यु आफुले चाहे अनुरुप हुदैन त्यसरी नै विवाह पनि हुदैन भन्ने हजुरहरुलाई अबगत हुँदा हुँदै किन यति तल गिरेर कसैको चरीत्र हत्या गर्न लगिपरिरहनु भएको छ? कि हजुरहरुले जन्मलाई नि आफ्नो बसमा पारेर आफू अनुकुल समयमा लेराउनु भयो अनि मृत्युलाई बसमा पार्न सफल हुनुभयो? या आफ्नो अनि परिवारका सदस्यको विवाह पनी ? हो यसो गर्न सफल हुनुभएको हो भने चाही हजुरहरु साच्चैै भाग्यमानी अनि महान हुनुहुन्छ ।


सबैले आ-आफ्नो स्तर अनि मर्यादामा रहि यहि समाजमा जीवन यापन गरिरहेका हुन्छन । अनि तपाईको यस्तै अमर्यादित व्यवहारले अरुलाई जिउन समेत गार्‍हो पारिदिन्छ । कसैको छोरीको उमेर २५ बर्ष कट्नु हुन्न तपाईले कुरा काट्ने गतिलो खुराक पाउनु हुन्छ । अझ विवाह नगरी कसैको उमेर बढ्दै गयो भने त तपाईहरुलाई आफ्नो उमेरै उसैले लगि जस्तो हुने है ! ‘फलानाकी छोरी त बुढिकन्या नै बनाएर राख्ने भए छोरीको कमाई खाएर बस्न लाज पनि नलागेको ‘ यस्ता यस्ता कुरा गर्दै हिंड्दा तपाईंहरुलाई आनन्दको महसुस हुने । अझ ‘फलानिकी छोरी त बिकिन’ सम्म भन्न भ्याउनुहुन्छ है ! यो कस्तो सोच हो हजुरहरुको छोरी के कुनै बस्तु हो र बिक्नलाई ? अनेक दुख कष्ट झेलेर बाबुआमाले एक छोरिलाइ पढाई लेखाइ शिक्षत बनाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु हुन्छ। उहाँहरुको त्यत्रो वर्षको त्याग र तपस्याले छोरी आज कुशल अनि सक्षम बनी आफु चरीत्रवान रहि बाबुआमाको समाजमा गरिमा कायम राख्न सक्ने भै तब तपाइहरु मिलि अनेक लाल्छना र कपोकल्पित कुराहरुले भ्रम सृजना गर्दै हिंड्न् थाल्नुभयो केबल विवाहमा ढिलाई भएकै कारण ! तपाईहरुको यी र यस्तै यावत् कुराहरूको क-कसलाई जवाफ दिदै हिड्नु ? केहिलाई त जवाफ पनि दिए । अनि आफू सबै कुराले परिपक्क हुँदै जादा थाहा भयो कि सफाइ दिदै हिड्नु भन्दा मौन बस्नु ठिक, तर मौनताको गलत फाइदा उठोस त्यत्ती पनि मौन होइन ।

सानो उमेरमा विवाह हुदैमा कोहि चरीत्रवान हुने अनि विवाह नगरी बस्ने जति सबैको चरित्र माथी औला उठाउनै पर्ने यो कस्तो मानसिकता हो हजुरहरु जस्तो शिक्षित वर्गको ! एकपटक आफ्नो जीवनमा फर्किएर हेर्नुस त, तपाईंकै परिवार तपाईंकै मनका मान्छे अनि तपाईंकै छोराछोरी तिर – जो १७-१८ वर्षको उमेरमै आफुले मन पराएको केटासंग भाग्न लाग्दा थाहा पाइ जातको कुरा लेराएर उसलाई अनेक तवरले छेकेको । त्यसपछि कहिले कुन कहिले कुन केटाहरु छान्दै प्रेम गर्दै छोरी हिड्दा देखेको नदेखे झै गरि बस्नु भएको । प्रेम गर्नु गलत हुँदै हैन तर २-४ वर्षको अन्तराल ५-७ जना सङ प्रेममा पर्नु यो कस्तो खाले प्रेम हो ? यहि दौरान आफ्नो कार्यकौशलताले भन्दा पनि एकपछि अर्को प्रेमिलाई प्रयोग गर्दै आफ्नो जगिरे जिवनमा केही फड्को मार्नुलाई उसको कुशल क्षमता भन्न पनि पछि नपर्नु भएको । अन्तमा आफ्नै जातको धनि केटा संगको प्रेममा छोरी छ रे भनेको सुन्नासाथ चाहिँ उसको विवाह धुमधामका साथ गरिदिएको । अझ उसैको गुनगान गाउन सम्म सक्नु हुने सति सावित्री नै हो भनी ।
तर आज अरु कसैको छोरी चाहि विवाह गर्नका निमित्त धनि अनि सम्पन्न परिवार हैन कि असल बानी व्यवहारको व्यक्ति आवोस भनि आफ्नो क्षमताले सकेको काम गरि आफ्नो बाबुआमाको साथमा बसेकी हुन्छे भने उ चाहि तपाईंहरुको आखाको तारो भै । उ चाहिँ नबिकेकी चरीत्रहिन भै ? आफ्नो आङ्को भैंसी नदेख्नेले अरुको आङ्को जुम्रा त देख्ने नै भैयो नि हैन त ?

कसैको जिवनको मोलमोलाइ अनि कसैको चरीत्रको हत्या गर्दै हिंड्ने कोहि कसैलाई कुनै अधिकार छैन । यसरी कसैलाई झुठो आरोप अनि अनेक लाल्छ्ना लगाउदा उसलाई अनि उसको परिवारलाई सामाजिक तथा मानसिक रुपमा कति असर पर्दछ कहिलै सोच्नु भयको हुन्छ ? हजुरहरु आफन्त हु पनि भन्नू हुन्छ अनि यसरी शत्रुको जस्तो व्यवहार किन ? कसैको यसरी कुरा काट्दै आफ्नो अमुल्य समय खेर फाल्नुको साटो यही समय केही सकारात्मक सोचको विकास या कुनै असाहय व्यक्तिको भलाईको लागि या सहायतामा लगाउन सके तपाईंहरुको यो मानव जीवनले सार्थकता पाउथ्यो कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *