कुन्चिप्वाकल स्वास्थ्य चौकीले मनायो आफ्नो पहिलो वार्षिकी – स्थानीयसङ्ग खुसी साट्दै बुलन्द आवाज अभियान

शिक्षा/स्वास्थ्य स्थानीय

कुन्चिप्वाकल स्वास्थ्य चौकीले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सब मनाएको छ । मंसिर १९ गते तारकेश्वर नगरपालिका -१ कुन्चिप्वाकलमा अवस्थित स्वास्थ्य चौकीको प्राङ्गणमा स्थापनाकालमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गर्दै आफ्नो पहिलो वार्षिकोत्सब कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ ।

बुलन्द आवाज अभियानका अभियन्ता राजन नेपालको विशेष पहल अनि दाताहरुको सहयोगमा १ बर्ष अघि स्वास्थ्यचौकिको निर्माण सम्पन्न भइ नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । निर्माण अवधीमा आफू लगायत आफ्नो टिमले पाएको दु:ख, गरेको अथाह मेहनत अनि स्वास्थ्य सेवाबाट बन्चित यहाँका जनताले आज स्वास्थ्य चौकी बनेपछि पाएको सेवा र सुबिधा देखेर भावबिहोल हुँदै नेपालले सम्पुर्ण सहयोगी दाताहरु प्रती विशेष आभार प्रकट गर्नु भयो ।

कुल ६९ लाख ३२ हजार ६ सय २३ लागतमा निर्माण भएको उक्त भवन निर्माणका लागि तारकेश्वर नगरपालिकाबाट करिब ३५ लाख बजेट उपलब्ध भएको र बाकी रकम विभिन्न समाजसेवी व्यक्तिहरुको सहयोगमा जुटाइएको स्मरण गर्दै संचारकर्मी तथा बुलन्द आवाज अभियानका अभियान्ता राजन नेपालले आजको दिन ती सहयोगी दाताहरुको सम्मानको विशेष दिन भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वोर नगरपालिकाका नगर प्रमुख  कृष्णहरि महर्जनको हातबाट सहयोगी दाताहरुलाई फुलमाला लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले स्वास्थ्य , शिक्षा तथा विकासका पुर्वाधार लगाएत समग्र नगरको विकासका लागि विशेष योजनका साथ अगि बढीरहेको बताउनु भयो । स्वास्थ्य चौकी बनाउदा सहयोग गर्नुहुने सबैलाई शुभकामना र धन्यवाद दिदै अब स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि नगरपालिकाले आवस्यक बजेट विनियोजन गर्ने  प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नगर उप-प्रमुख सृजना बुर्लाकोटि , कुन्चिप्वाकल मा.वि. का प्र.अ. राजु नेपाल तथा अतिथिका रुपमा स्थानीय राजनीतिक दलका प्रमुख, समाजसेवी लगायत ठुलो संख्यामा स्थानीय बासीहको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएको वडा अध्यक्ष तथा स्वास्थ्य चौकी सन्चालक समितिका अध्यक्ष विदुर सापकोटाले बुलन्द आवाज अभियानको प्रंसशा गर्दै स्वास्थ्य चौकीलाई प्रभावकारी रुपमा संचालन गर्न वडा तथा नगरपालिका विशेष रुपमा लाग्ने बताउँदै समग्र वडा विकासका लागि आफू सधै जनभावनाको कदर गर्दै वडा बासी संगै हातेमालो गर्दै अधि बढ्ने बताउनु भयो ।

जनस्वास्थ्य निरीक्षक सीता कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *