गोकर्णेश्वरको मेयरमा रिसाललाई सर्वसाधरणको पनि समर्थन

राष्ट्रिय समाचार स्थानीय

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको नगर समितिले क्षेत्रीय सचिवसमेत रहेका दीपककुमार रिसाललाई एक नम्बरमा सिफारिस गरेको छ ।

रिसालसहित नगर सभापति कुमार लामा पनि मेयरको सिफारिसमा परेका छन् । नगर समितिले वैशाख ६ गते पत्र जारी गर्दै उपमेयरमा शान्ति नेपाल, गिता सिंखडा र लेखकुमारी पुडासैनीलाई सिफारिस गरिएको जनाएको छ । पार्टीले मेयर र उपमेयरमा नै एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने भने पनि मेयरमा कुनै पनि महिलाको दाबी नभएको नगर समितिले जारी गरेको सूचनामा जनाइएको हो ।

चैत्र २८ गते बसेको बैठकले नाम सिफारिस गरेको हो । उपप्रमुखमा सिफारिस नेपाल उपमेयर हुन् । मेयर पनि कांग्रेसकै सन्तोष चालिसे छन्, चालिसे क्षेत्रीय सभापति पनि हुन् । गोकर्णश्वर क्षेत्र नम्बर ३ मा पर्दछ । नगरले समितिका पदाधिकारी तथा सदस्यहरुका साथै अरुले रिसाललाइ मेयर बनाउनुपर्छ भनेर गरेको समर्थनको प्रति पनि पार्टीले विभिन्न निकायमा पठाएको छ । रिसाललाई मेयर बनाउन उपयुक्त हुन्छ भन्दै पार्टीका नेतासहित, बुद्धिजिवी र सर्वसाधरणले समेत राय दिएका थिए । सबैको सुझावलाई आधार मानेर नाम सिफारिस गरिएको नगरले जनाएको छ ।

रिसाल गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी निवासी हुन् । उनी जनताको सुखदुखमा सधैं सहभागी भएका छन् । नगरपालिकाको प्रमुख सल्लाहकारको भूमिकामा रहेर पनि उनले आफ्नो थप लोकप्रियता कमाएका छन् । २०४६ सालदेखि कांग्रेसको राजनीतिमा लागेको बताउने उनी राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि सक्रिय छन् । उनी अरुणोदय माविको व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् । उनी गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको महासचिव पनि हुन् । उनले नगरपालिकालाई कस्तो बनाउने भन्ने खाका पनि बनाइसकेका छन् ।

उनले गोणर्केश्वर नगरपालिकालाई धार्मिक, पर्यटकीय र नयाँ समृद्ध सहर बनाउने आफ्नो सपना रहेको बताए । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु ।

अब भने मेयर बनेर अझ बढी काम गर्न चाहना छ,’ उनले भने । उनले नगरपालिकाले अहिले गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन् । शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभीर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताए ।
‘म निर्वाचित भएपछि पनि नगरवासीकै काममा लाग्ने हो, तपाइहरुले दिएको विश्वासमाथि धोका हुने छैन’ उनले भने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *