चनौली मालपोतःउखरमाउलो गर्मीमा टिनको छाना मुनिबाट सेवा

राष्ट्रिय

६ जेठ, चितवन । चितवनमा उखरमाउलो गर्मीले जनजीवन प्रभावित बनाएको छ । पछिल्लो हप्ता दैनिक ४० डिग्री वा सोभन्दा माथिको तापक्रम रेकर्ड गरिएको छ । विद्यालयहरू बन्द गरिएका छन् । सडकमा मानिसहरुको आवागमन निकै कम देखिन्छ । कालोपत्रे पिचमा हिँड्दा आगोको राप नजिकै बसेजस्तो हुन्छ ।

बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर २० चनौलीमा रहेको मालपोत कार्यालयमा पुग्दा त्यहाँका कर्मचारी उखरमाउलो गर्मीमा टिनको छानामुनि बाफिदै काम गरिरहेका थिए । कार्यालय भवन सेवाग्राहीमैत्री नहुँदा सेवाग्राही पनि आलसतालस देखिन्थे ।

 

चनौलीमा २०७३ माघ १७ गते मालपोत कार्यालय स्थापना गरिएको थियो । यो कार्यालयमा भाडामा लिइएको साँघुरो घरमा छ । न पर्याप्त पार्किङ्ग छ, न सेवाग्राहीका लागि बस्ने सुविधायुक्त ठाउँ नै ।

कार्यालय प्रमुख नरहरी सापकोटाले कार्यालयको हालत सुनाए, ‘मालपोतका महत्वपूर्ण कागजातहरू भुइँमा नै राख्नुपर्ने बाध्यता छ । बर्खामा पानी र जाडोमा शित चुहिएर भिज्ने अवस्था छ । गर्मीको बेलाको अवस्था त देखिहाल्नुभो ।’

२०७२ सालको विनाशकारी भूकम्पपछि चितवनमा जग्गाको कारोबार आकासियो । भरतपुरमा रहेको मालपोत कार्यालयमा यस्तो भिड लाग्थ्यो की बाइपास सडकखण्डमा समेत ट्राफिक जाम भएर प्रहरी परिचालन गर्नुपर्ने स्थिति थियो ।

 

सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि तत्कालीन भूमिसुधार मन्त्री विक्रम पाण्डेको पालामा मालपोत कार्यालयको सेवा क्षेत्रगत रूपमा विकेन्द्रीकरण गरियो । पश्चिम चितवनको चनौली, माडी र पूर्वी चितवनको खैरहनीमा पनि मालपोत तथा नापी कार्यालय स्थापना भएपछि त्यस भेगका जनतालाई भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य भयो ।

स्थानीय महेन्द्रराज श्रेष्ठको घरमा मासिक ३० हजार भाडा तिर्ने गरी खोलिएको चनौली मालपोत कार्यालयमा सहयोगीसहित १८ जना कर्मचारीहरू कार्यरत छन् ।

कार्यालय खोलिएको ८ वर्ष पुग्न लाग्यो तर भौतिक अवस्थामा कुनै सुधार छैन । कार्यालयले छाप्रा र केही घरका गरी १५ वटा कोठाहरु भाडामा लिएको छ । कार्यालयका ५ वटा कोठा टिनको छानामुनिबाट सन्चालिन छन् । श्रेष्ता र तामेली अभिलेखहरु यत्रतत्र छरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *