तारकेश्वोर स्काउटले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार तारकेश्वोर-२ मा रहेको ग्रीनहिल्स एकेडेमीमा एक भब्य समारोह बीच हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावाली, छठ पर्व २०८० तथा नेपाल सम्वत् ११४४(न्यू दँया भिन्तुना) को उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको हो । तारकेश्वोर भरिका सम्पुर्ण विद्यालयका स्काउट मास्टरको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्पुर्ण उपस्थित स्काउट तथा अन्य अतिथिहरुले एक आपसमा शुभकामना साटासाट गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तारकेश्वोर वडा नं.२ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले स्काउटहरु साच्चै नै स्काउट गान अनुसार राष्ट्र भक्त ,कर्म भक्त भएको बताउनुभयो । स्थानीय स्काउट कार्यलय तारकेश्वोरले नगरपालिकामा जुन स्काउट गतिविधि अघि बढाई रहेको छ त्यो एकदम प्रशंसनीय रहेको र तारकेश्वोर नगरपालिकाले आफ्नो कार्य योजनामा स्काउटलाई विशेष स्थानमा राखेको समेत जानकारी गराउनु भयो ।
शुभकामना दिने क्रममा कार्यक्रमका विशेष अतिथि कालिदेवी मा.बि.का प्र.अ. कृष्ण ओझाले स्काउटले समाजमा शान्ति तथा सद्भाव कायम राख्न मद्दत गरेको र बालबालिकाहरुको चौतर्फी विकास गर्न थप टेवा पुर्याएको समेत बताउनुभयो । ग्रीनहिल्स एकेडेमीका सस्थापक प्रीन्सिपल राजेश्वोर प्रसाद यादवले स्काउटको हरेक गतिविधिमा आफू सधै अग्रसर भएर लाग्ने बताउनु भयो । तारकेश्वोर स्काउटका सह-संयोजक पुर्ण प्रसाद तिमिल्सिनाले आफुले स्काउटमा गरेको सङ्घर्ष सम्झदै सबै स्काउटरहरुलाई एकजुट भएर हातेमालो गर्दै अघि बढन आग्रह गर्नु भयो ।
कार्यक्रममा उपस्थित सबै स्काउट तथा स्काउटरहरुलाई नजिकिएका सम्पुर्ण चाडपर्वको शुभकामना दिदै तारकेश्वोर नगर स्काउटका संयोजक दामोदर बस्नेतले तारकेश्वोरलाई देशकै उत्कृष्ट स्थानीय तह बनाउने प्रण गर्नु भयो । तारकेश्वोर स्काउटमा कुनै राजनैतिक गन्ध आउन नदिने र सबैलाई सयपत्रीको माला जस्तै समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
साच्चै नै तारकेश्वोर नगरपालिका स्काउटमा अन्य स्थानीय तहहरु भन्दा अग्रणी स्थानमा रहेको छ । नगर भित्रका सबै सामुदायिक विद्यालय र केही सस्थागत विद्यालय गरि करिब ३० भन्दा बढी विद्यालयमा स्काउट दल विधिवत रुपमा नेपाल स्काउटमा दर्ता भइ सन्चालन भइरहेको छ ।