चेलीको कला क्षमता नाप्ने मापदण्ड हो तीज: हरिदेवी कोइराला

मनोरन्जन

यस्तो महामारीको चपेटामा छौं । विश्व नै स्तब्ध छ । यो बेलामा रमाइलो त के रमाइलो हुनु ? के हुने हो ? कसो हुने हो ? कसैलाई थाहा पनि छैन ।

कसरी सुरक्षित हुने भन्ने एउटै चिन्ता छ । यो जिउ कसरी जोगाउने ? यो जीवन कसरी जोगाउने ? यो विषम परिस्थितिमा पनि आएका चाडवाडलाई त औपचारिकता दिनैपर्ने हुन्छ । घरमै बसेर भए पनि तीजमा व्यस्त नै भएँ । यो तीजमा गीत आईसकेका तर भिजुअल आउन बाँकी थिए । १२ वटा गीतको भिजुअल पनि गरियो । ३ वटा नयाँ गीत पनि आएको छ । जुमबाट टोल टोलदेखि देश विदेश धेरै ठाउँमा जोडिए म । धेरै संघ संस्थासँग । फोनमै पनि धेरै नै कुरा भइरहेको छ ।

घरमै बसेर पनि तीजलाई सक्रिय भएर मनाइयो भन्नुपर्यो । एउटा गृहिणीको कामदेखि आफ्ना कामहरु सबै भइरहेकै छन् । र, पनि कोरोनाको जुन चपेटामा छौं । सबै सुरक्षित रहनुहोला भन्न चाहन्छु । मनमा रमाइलो त छैन । के रमाइलो भन्नु ? उमंग नै छैन के, तीज हो कि होइन कि ! यसो सोच्नुपर्छ । भोगाइले नै अर्कैै कल्पनामा पु¥याइदिएको छ । नसोचेको कुरा भोगिरहेका छौं । एक किसिमको त्रास त छ नि हामीसँग । चुनौती अघि छ । उज्यालो दिन कहिले भेट्ने ? तनावग्रस्त त छौं नि ! अब रमाइलै छैन भने पनि हुन्छ । मलाई पटक्कै रमाइलो त छैन । तैं पनि गरिरहेको काम गर्नुपर्यो ।

बीचमा एक महिना लकडाउन खुल्दा धेरै काम पनि गरें । लकाउनअघि पनि धेरै सिर्जनाका काम पनि भए । सामाजिक सञ्जालतिर पनि सक्रिय नै थिएँ । तर पनि मनमा उमङ्ग छैन । तपाईंले फोन गर्नुभयो, अरुले पनि गरिरहनुभएको छ । यसरी नै चलिरहेको छ । एउटा प्रक्रिया भनौं न चलिरहेको छ । आफूलाई पनि भुलाउनु त प¥यो ।

०४५ सालबाट यता २ सयबढी त तीजको मात्रै गीत गाएँ हुला ! जनआन्दोलनदेखि माओवादी जनयुद्ध, दरबार हत्याकाण्ड, भूकम्प, लोकतन्त्र आयो भन्ने खुसीयाली, राजा पनि जनता सरह भए भनेर घटनाप्रधान गीत थुप्रै गाएँ । परम्परागत गीतहरु पनि गाएँ । जुन हाम्रा रैथाने भाकाहरु छन् । पौराणिक किंवदन्ती जोडिएका गीतहरु । यस्ता गीतहरु, हजुरआमाले गाउने गीतहरु गहना, गोरिया, बिरुवाका, देशका नेताका, भ्रष्टाचारका थुप्रै–थुप्रै विषयबस्तु । नारीको विरह ब्यथाका ।

ए, उठ हामी महिलाहरु सबै एकजुट हौं है !

हाम्रो अस्तित्व ठूलो छ । छोराछोरी किन भेद्भाव गर्ने ? विदेशमा वेचिन्छन् भृकुटी, सीता जस्ता नारी । यो देशले नारी कति बेचे विदेशमा । छोराछोरी किन भेद्भाव हुन्छन् । पहिलेको तीजमा दुध र घ्यू खाइन्थ्यो । अहिले मोही पनि छैन । महंगी बढ्यो । सरकारले के हेरेको छ ? हजारको तरकारी एक झोला पनि आउँदैन भन्ने जस्ता धेरै गीतहरु गाएँ । केही विषय छुटेका छन् जस्तो लाग्दैन मलाई ।

अहिले आएर जेष्ठ नागरिकलाई ध्यानमा राखेर उनीहरु हिँड्न सक्दैनन् । तीज आए पनि तिहार आए पनि ।

जानु छैन माईती गाउँ
कस्तो भए होला बरै हाम्रो जन्म ठाउँ …
पहिला जस्तो छ कि छैन हाम्रो पानी पँधेरो
उस्तै छ कि भत्क्यो होला बरको चौतारो

उहाँहरुलाई नै पात्र बनाएर धेरै नै गीतहरु भई सके । अहिलेको तुलनामा अत्यन्तै छोटो मिठो तरिकाले मौलिकता भरिएका गीतहरु हुन्थे पहिला । खाना पनि आफ्नो घरमा जे छ, उहीं खाइन्थ्यो । अहिलेको त कुरै नगरौं । त्यस्तो किसिमको थियो । अहिले त परिवर्तन भएर पाश्चात्य शैलीमा पुगिसक्यो तीज । पक्कै, पनि यो हुनु संस्कृतिको लागि दुःखद पक्ष हो जस्तो लाग्छ । यस्तै भई रह्यो भने भोलीको तीज एकादेशको कथा त नहोला भन्ने भय पनि छ ।

मौलिकता हामीबाट पर हुँदै छ । राम्रा गीत पनि छन् । सबैलाई नराम्रो भन्न चाहन्न । धेरै जसोले आफ्नो मौलिकता बिर्सेको हो कि जस्तो लाग्छ । यो पर्व गीत हो । विशेष तीजमा मात्र गाइने गीत हो । पर्व गीत सिमित समयमा गाइन्छ । यसलाई संरक्षण गर्नुपर्ने दायित्व राज्यको पनि हो । विशेष गरेर ठूलो भूमिका कलाकारको हुन्छ । कलाकारले कस्तो गीत गाउँदै छुँ । यसले समाजमा कस्तो प्रभाव पार्ला ? भनेर अलिकति ध्यान पनि दिनु पर्ने भयो भन्ने आग्रह पनि गर्न चाहन्छु ।

तीजमा मात्रै होइन, मौलिक पक्षलाई अरु समयमा पनि ध्यान दिनुपर्छ । रैथाने गीत कति छन्, हामीसँग । विभिन्न भाषाभाषी, जात जातिका । हामी त यस्तो फूलबारीमा छौं नि । सबै प्रकारका गीतहरुलाई एकै ठाउँमा राखेर खिचडी बनाई दियौं भने भोलि यसको सग्लो अस्तित्व नभेटिन सक्छ ।

यो राम्रो किसिमको प्रवेश होइन । जे पायो त्यहीं गीतलाई मिडियाले पनि बढवा दिने प्रचलन छ । मन पराए, समयको माग हो भन्ने कुरा पनि आउलान् । समयको माग ले तीजको गीतमा गितार बजाउ भनेर माग राखेको छैन होला नि त । यो त पर्व गीत हो । परिवारमा गाइने । तीजमा दाजुभाईले दिदीबैनी सम्झिने, तिहारमा दिदीबैनीले दाजुभाई ।

कस्तो मेल छ नि त । अब एउटा जन्म ठाउँ छोडेर एउटी चेली पराईको घरमा आएर, बुढाबुढी भएपनि लौरी टेकेर माईत जाने । धार्मिक पक्ष पनि छ । ऐतिहासिक पक्ष पनि छ । पारिवारिक पक्ष छ । सामाजिक पक्ष छ । विकृति विसंगति केलाउछ तीजले । सबै कुरा केलाउछ तीजले । यसरी नै गाउनुपर्छ भन्ने छैन ।

गाइजात्राको माध्यम बनाएर जसरी निर्धक्क मनका कुरा पोख्छन् पुरुषहरुले । त्यसैगरि महिलाले वाक स्वतन्त्रताको लागि महिलाको प्रतिभालाई उजागर गर्ने मञ्च हो तीज । वर्षभरिमा चेलीले कस्तो सिर्जना गर्छिन् त ? चेलीको कला क्षमता नाप्ने मापदण्ड हो तीज । यस्तो मिठो कुरालाई नभत्काउ भन्न चाहन्छु म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *