मेचीको लेखेँ कविता मैले कापीमै बिलायो
कोशिको लेखेँ कविता मैले सिँगान पुछियो
नेपाललाई कविता बनाई छाप्नलाई दिएको
त्यो छापिएन कविता कैल्है लेखुँ कि नलेखुँ ।
माटोलाई मुटु मानेर त्यहीँ कविता बनाएँ
सगरमाथा कविता लेखी स्वीकृति मगाएँ
गोसाईँकुण्ड त्रिशुली बन्यो धुन्चेका खोँचमा
नछापिईंदा त्रिशुली मेरी म परेँ सोचमा ।
के लेखे मिल्ला स्वीकृति हजुर सल्लाह पाउँ न
कविता के हो ढुंगो कि माटो म बुझ्दै बुझ्दिन
सुख र दु:ख गाउँ र बेसी सगरमाथाको
छापिन्न मेरो कविता किन तराई फाँटको ।
मनको पीर मनमै रह्यो पोख्न नै पाइँन
दुखेको मन कविता रुपमा प्रकाशन भएन
बढेकी छोरी बिहे नहुँदा वैकल्ये भएझैँ
प्रकाशन बिना कविता मेरी कापीमै बुढी भै।
जे भए पनि कविता मेरी मनकी देवी हौ
अरुले हेर्दा कुरूप हौली मेरी त रानी हौ
नछाप सम्पादक हे मेरी कविता पाप लाग्छ
कविता महोत्सवका बेला अरुकै दाउ जाग्छ ।
-अच्युत प्याकुरेल