जनशक्ति व्यवस्थापनसँगै चेतना अभिवृद्धि:सडकमा डमी ट्राफिक प्रहरी

राष्ट्रिय

ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले सचेतना अभिवृद्धिको लागि २२ वटा डमी ट्राफिक प्रहरी तयार गरेर विभिन्न चोकमा राखेको छ । यसले सचेतनासँगै ट्राफिक देख्दा मात्रै नियम पालना गर्ने नागरिकलाई समेत कानुन अनुसार सवारी चलाउन मद्दत गर्ने ट्राफिक प्रहरीका अधिकारीहरुको भनाइ छ ।

‘टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने र ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुन्छ’, ट्राफिक प्रहरीका एसएसपी भिमप्रसाद ढकालले भने, ‘यसले महामारीका बेला जनशक्ति व्यवस्थापनमा पनि सहयोग पुग्छ ।

उपत्यकामा ४२८ जना प्रहरीमा कोरोनाको सक्रिय संक्रमण छ । यस्तो अवस्थामा प्रहरीलाई दैनिक कार्यमा जनशक्ति अभाव भइरहेको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन बग्गीखानाले नयाँ जुक्ति निकालेको छ ।

डमीको हातमा ट्राफिक नियम उल्लंघन गरेमा ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने लेखिएको बोर्ड राखिएको छ । ढकालका अनुसार ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्छ ।

सडकमा राखिएका डमीहरू महाशाखाको पहलमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर बनाइएको हो । हाल सिंहदरबार, सातदोबाटो, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप,  भद्रकाली,  थापाथली, कालिमाटी, कलंकी, जडिबुटी, कोटेश्वर, गौशाला, पुरानो बानेश्वर, ल्होत्से, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुंगा र जगातीमा डमी राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *