जेनजी आन्दोलनबारे मेयर बालेन शाहको लिखित जवाफ जाँचबुझ आयोगमा पेश

राष्ट्रिय

मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी विषयमा जाँचबुझ आयोगलाई लिखित जवाफ पठाएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बुझ्न आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो।

उक्त पत्रको जवाफ आयोगले प्राप्त गरिसकेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। ‘मेयर शाहले पठाउनुभएको लिखित जवाफ आयोगमा प्राप्त भएको छ,’ प्रवक्ता शर्माले भने।

आयोगले बयान संकलनलगायतका सबै प्रक्रिया पूरा गरी अब प्रतिवेदन लेखनको चरणमा प्रवेश गरेको छ। आयोगले गत साता गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य तथा बयान लिएको थियो।

यसअघि आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न विवरण र तथ्यांकहरू संकलन गरिसकेको छ। तल्लो तहका सुरक्षा अधिकारीहरूसँग बयान लिएपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय तथा प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग पनि बयान लिएको थियो।

त्यस्तै सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालीन गृहसचिव, मुख्यसचिवलगायतसँग पनि आयोगले बयान लिएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले समेत आफ्ना अधिकारीहरूसहित आयोगमा उपस्थित भई बयान दिएका थिए। आयोगले सुरुवाती चरणमै पूर्वगृहमन्त्री रवि लामिछाने लगायतसँग पनि बयान लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *