टिकटक खरिद गर्ने ट्विटरको योजना

सूचना प्रविधि

अमेरिकामा प्रतिबन्धित हुने चरणमा रहेको लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्नका लागि एक पछि अर्को अमेरिकी कम्पनीहरुले रुचि देखाएका छन् ।


यसअघि माइक्रोसफ्ट कम्पनीले अमेरिकास्थित टिकटकको व्यवसाय खरिद गर्ने सम्झौता गर्न लागेको खबर आएको थियो । माइक्रोसफ्टले टिकटक खरिद गर्ने उक्त हल्लाको टुंगो नलाग्दै अर्को अमेरिकी कम्पनी ट्विटरले टिकटक खरिद गर्ने इच्छा व्यक्त गरेको छ ।
अमेरिकामा टिकटकको कारोबार खरिद गर्ने इच्छा व्यक्त गर्दै ट्विटरले टिकटकको मातृ कम्पनी बाइटडान्ससँग वार्ता अघि बढाएको समाचार सार्वजनिक भएको छ ।
अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले टिकटकसँगको कारोबार आगामी ४५ दिनभित्रमा बन्द गर्नुपर्ने कार्यकारी आदेश जारी गरेसँगै अमेरिकमा टिकटकको भविष्य अनिश्चित बनेको छ । अब कुनै अमेरिकी कम्पनीले अमेरिकास्थित टिकटकको स्वामित्व खरिद नगरेको खण्डमा अमेरिकामा टिकटक बन्द हुने निश्चित छ ।
त्यहीँ बीचमा टेक जाएन्ट माइक्रोसफ्टले अमेरिकास्थित टिकटकको कारोबार खरिद गर्ने सम्झौता गर्न लागेको खबर आएको थियो । तर माइक्रोसफ्टले टिकटक खरिद गर्ने विषयमा कुनै पनि कुराकानी नभएको ट्विटरले बताएको थियो ।
पछिल्लो पटक ट्विटरले टिकटक खरिदका लागि चिनियाँ कम्पनी बाइटडान्ससँग कुरा अगाडि बताएको भए पनि अमेरिकामा रहेको टिकटकको विशाल कारोबारका कारण ट्विटरले खरिद गर्न सक्ने नसक्ने बारेमा संसय छ । टिकटक खरिदका बारेमा ट्विटरले पनि आधिकारिकरुपमा केही बताएको छैन ।
अमेरिकामा टिकटकको कारोबार ठ्याक्कै कति छ भन्ने विषयमा यकिन नभएता पनि त्यो दशौँ अर्ब डलर भएको बताइन्छ । जबकी ट्विटर कम्पनीको बजार मूल्य जम्मा २९ अर्ब डलर छ ।
टिकटक खरिद गर्न सक्ने आर्थिक हैसियत भएको कम्पनी माइक्रोसफ्टको बजार मूल्यचाहिँ १.६ ट्रिलियन डलर रहेको छ ।
यद्यपि ट्विटरले टिकटक खरिद गर्दा कानुनी झमेला भने कम हुने विश्लेषकहरु बताउँछन् ।
ट्रम्पको आदेशले ‘मर्माहत’
गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४५ दिनभित्रमा चिनियाँ एप टिकटकसँगको सबै कारोबार बन्द गर्न अमेरिकी कम्पनीहरुलाई आदेश दिए । टिकटकले संकलन गरेका प्रयोगकर्ताका डाटाहरुमाथि चिनियाँ सरकारको पहुँच रहेको ट्रम्प प्रशासनको आरोप छ, जसलाई टिकटकले पूर्णतः अस्वीकार गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको उल्लेखित कार्यकारी आदेशका विषयमा प्रतिक्रिया दिँदै टिकटकका अधिकारीले सो कदमबाट आफू स्तब्ध भएको र त्यसविरुद्ध कानुनी प्रक्रियामा जाने बताइसकेका छन् ।
टिकटक मात्र होइन अमेरिकी सरकारले अर्को चिनियाँ एप विच्याटमाथिसमेत प्रतिबन्धको घोषणा गरिसकेको छ ।
अमेरिकी कम्पनीहरुलाई टिकटकसँग कारोबार बन्द गर्न आदेश दिएका ट्रम्पले टिकटक खरिद गर्ने माइक्रोसफ्टको योजनाको भने समर्थन गरेका थिए ।
सम्झौताका क्रममा अमेरिकी सरकारले समेत उचित स्थान पाएमा टिकटक खरिदको प्रक्रियालाई स्वीकृति दिइने उनको भनाइ छ । तर आगामी सेप्टेम्बर १५ सम्ममा सम्झौता नभएमा टिकटकमाथिको प्रतिबन्ध सुरु हुने ट्रम्पले चेतावनी दिएका छन् ।
माइक्रोसफ्टले चाहिँ अमेरिका मात्र नभइ अस्ट्रेलिया, क्यानडा र न्यूजिल्याण्डमा रहेको टिकटकको कारोबार खरिद गर्नका लागि आवश्यक वार्ता प्रक्रिया अगाडि बढाउने बताएको थियो ।
बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *