तिहार नजिकिदै गर्दा सस्तियो भाइमसला

अर्थ बजार

 तिहारमा आवश्यक पर्ने भाइमसलाको भाउ सस्तो भएको छ । किनमेल गर्नेको संख्या कम र स्टक सामान धेरै भएकाले भाउ सस्तो भएको व्यापारीले बताएका छन् ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको भाउ घटेको छ । तिहार सुरु हुन एक हप्ता मात्रै बाँकी छँदा पनि बजारमा चहलपहल छैन । माग नै कम भएकाले भाइमसलाको भाउ सस्तो भएको श्रेष्ठले बताउनुभयो ।

भाइमसलाको रुपमा प्रयोग हुने काजु, किसमिस, पेस्ता, छोकडा, देशी बदाम, ओखर, खुर्पानी, मिश्री, ल्वाङ, सुपारी, सुकमेल, अलैँची लगायतको भाउ पोहोरको तुलनामा घटेको छ । यी सामानमा किलोको २० देखि ५ सय रुपैयाँसम्म भाउ सस्तो भएको छ । खुद्रा व्यापार संघका अनुसार पोहोर ल्वाङको भाउ किलोको १८ सय रुपैयाँ रहेकोमा यसपालि १३ सय रुपैयाँ मात्रै छ ।

साढे पाँच अर्बको भाइमसला

यस्तै पोहोर किलोको ५५ सय रुपैयाँ पर्ने सुकमेल अहिले ५ हजार रुपैयाँमा पाइन्छ । पोहोर किलोको १७ सय रुपैयाँसम्म रहेको काजुको भाउ यसपालि १४ सय रुपैयाँमा झरेको छ । कोरोनाको कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि कम हुँदा यसपालि चाडपर्वमा उत्साह घटेको छ ।

पोहोरपरारजस्तो चहलपहल नभएपछि बजारमा भाइमसलाको मागसँगै भाउ पनि कम भएको व्यापारीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *