नवजात जङ्गलमा शिशुलाई फालेको आरोपमा बाबु पक्राउ

अपराध राष्ट्रिय

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फालेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अमितसँगै पक्राउ परेकी उनकी श्रीमती विन्दु चौधरीलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

नवजात शिशु जङ्गलमा फालेको घटनामा विन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जङ्गलमा लगेर फालेका थिए ।

जङगलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *