नेप्से करिब १० अंकले उकालो, कारोबार रकम एक महिनायताकै उच्च

अर्थ बजार

मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढेर २६४९ अंकमा पुगेको छ। दिनभर बजारमा उतारचढाव देखिए पनि समग्रमा सूचक हरियो रह्यो।

कारोबार सुरु भएदेखि नै बढेको नेप्से ११:५७ बजे २६६२ अंकसम्म पुगेको थियो। तर त्यसपछि भने सूचक सो स्तरभन्दा माथि जान सकेन र अन्ततः सामान्य सुधारसहित बन्द भयो।

आज कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ७ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। यो कारोबार रकम पछिल्लो एक महिनायताकै उच्च हो। आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।

आज फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखियो। सो समूहको परिसूचक सबैभन्दा धेरै २.८७ प्रतिशतले बढ्यो। अघिल्लो दिन सर्वाधिक बढेको उत्पादन तथा प्रशोधन समूह भने आज ०.५१ प्रतिशतले घट्यो। होटल तथा पर्यटन समूह पनि ०.२३ प्रतिशतले ओरालो लाग्यो।

अन्य समूहहरूमा बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा ०.१२, अन्य ०.७७ तथा व्यापार समूह ०.५४ प्रतिशतले बढेका छन्।

कम्पनीगत रूपमा जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो। त्यसैगरी थ्रीस्टार हाइड्रोपावर ९.५४, जानकी फाइनान्स ५.८३, गुडविल फाइनान्स ५.४६ र एसवाई प्यानल ५.४३ प्रतिशतले उकालो लागे।

घट्ने कम्पनीतर्फ रुरु जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै ८.४१ प्रतिशतले घट्यो। ट्रेड टावर ६.२६, सान्भी इनर्जी ५.६१, बन्दीपुर केबुलकार ५.४२ तथा श्रीनगर एग्रिटेक कम्पनीको सेयर मूल्य ५.१६ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै कारोबार हुने पाँच कम्पनीमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *