पहिरोले लियो एकै परिवारका ५ जनाको ज्यान

राष्ट्रिय

म्याग्दीको मालिका गाउँपालिका-२ मा बिहान करिब ४ बजे आसपास गएको पहिरोले घामबहादुर विकको घर पुर्दा परिवारका सबै ५ जनाको मृत्यु भयो । तर, निरन्तर झरी परिरहेको र विकट भएकाले नजिकै भएका गाउँलेले पनि ढिलो गरीमात्रै घटनाबारे थाहा पाए । पहिरोमा परी घामबहादुर, उनकी पत्नी ३४ वर्षीया राममाया विक, १५ वर्षीय छोरा नवीन विक, १३ वर्षीय छोरा राजन र ७ वर्षीय छोरी अस्मिको मृत्यु भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए ।

विक लामो समय वैदेशिक रोजगारमा बिताए । अब नेपालमै केही गर्ने भनेर गत वर्षमात्रै फर्किएका उनले पाँच वटा खच्चड किनेर ढुजानी व्यवसाय सुरु गरेका थिए । विकट ठाउँमा बसाईं भएकाले खच्चड व्यवसायले राम्रो आम्दानी पनि दिइरहेको थियो । परिवार खुसी नै थियो । तर, मंगलबार बिहान गएको पहिरोले घामबहादुरको जीवनको सदाका लागि अस्तायो ।

पहिरोले पुरेको अवस्थामा सुरुमा ३ जनाको मात्रै शव फेला परेको थियो । स्थानीय स्वास्थ्यचौकीकी अनमी धनमाया पुनका अनुसार सुरुमा नवीन विक र राजन विकको शव फेला परेको थियो बाँकी ३ जनाको अवस्था अज्ञात थियो । तर मंगलबार दिउँसोसम्म सबैको शव भेटिएको छ । पहिरोले घामबहादुरको गोठ पनि बगाएको छ र त्यहाँ रहेको एउटा खच्चडको पनि मृत्यु भएको छ । बाँकी ४ वटा खच्चड पनि घाइते रहेको अनमी पुनले जानकारी दिइन् । पहिरोले रुमका २ घर पुरेको छ भने ४ घर उच्च जोखिममा छन् । ‘तलका ४ घर पनि उच्च जोखिममा रहेकाले अन्तै सारिसकिएको छ’, उनले भनिन् ।

पहिरोमा परी स्थानीय ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ‘उहाँहरुको थप उपचार गर्नुपर्नेछ । तर, बाटो नै खुलेको छैन, यहीं हुनुहुन्छ,’ अनलाइनखबरसँग उनले भनिन्, ‘अरु अवस्था भने सामान्य छ ।’

मालिका गाउँपालिकाकै वडा नम्बर ३ मा मंगलबार दिउँसो गएको पहिरोले एक घर बगाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाका अनुसार पहिरोले घर बगाए पनि मानवीय क्षति भने भएको छैन । ‘करिब ३ सय मिटर तल बगाएको छ । तर, दिउँसो भएकाले मानवीय क्षति भने छैन’, उनले भने ।

आइतबारदेखि निरन्तर परिरहेको वर्षातले पहिरो खस्दा म्याग्दी मुस्ताङ बाटोसमेत बन्द भएको छ । प्रजिअ रानाका अनुसार सडकको पहिरो पन्छाउन समय लाग्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *