मत्स्येन्द्रनाथको रथ तानियो

धर्म -संस्कृति

निषेधाज्ञाको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर करिब साढे ४ सय व्यक्तिको सहभागितामा रथयात्रा गरिएको हो ।गत चैतदेखि रोकिएको मत्स्येन्द्रनाथको रथयात्रा आइतबार गरिएको छ ।

रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई २० मिटर जति तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ ।

रथयात्रामा सहभागी सबैले मास्क लगाएका थिए भने एकै रङको टिसर्ट लगाएका थिए । धेरैले फेस सिल्ड पनि लगाएका थिए । रथयात्राका क्रममा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

कोरोना भाइरसको महामारीका कारण यसवर्ष छोटो रुपमा जात्रा सक्ने तयारी छ । जात्रामा ठूलो भिड हुने र त्यसले कोरोना संक्रमण फैलिने जोखिम भएको भन्दै गत चैतदेखि जात्रा रोकिँदै आएको थियो । तर जात्रा गर्ने समय घर्किनै लागेको र असोज २ देखि मलमाससमेत सुरु हुने भएपछि स्थानीले छोटो प्रक्रियाबाट रथ यात्रा गर्न दिनुपर्ने माग गर्दै आएका थिए ।

तर समयमा रथयात्राको उचित विकल्प पहिल्याउन नसक्दा स्थानीय युवाहरुले प्रशासनले निषेधाज्ञाका बाबजुद रथ तानेका थिए ।त्यसपछि कर्फ्यू लगाएर क्षमा पूजा गरी रथयात्रा छिटो टुंग्याउने बाटो खोजिएको थियो ।

अब ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुनेछ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रक्रियाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने जात्रा संयोजक महर्जनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *