मल महंगोमा बेच्नेलाई कारवाही भएन किन्न सहकारीमै ओच्छ्यान !

कृषि-पर्यटन राष्ट्रिय

गिता गौतम
काठमाडौं

भरतपुर महानगरपालिका वडा नं. ५ को नवचन्द्रमा कृषि सहकारी संस्थाले सोमबार मल बाँड्ने चर्चा एक साता अघि नै चलेको थियो । त्यो सुनेका किसान आइतबार साँझ खाना खाएर सहकारीमै सुत्न म्याट बोकेर हिँडे । कोही राति ११ बजे सहकारीमा आएर सुते । कोही रातको अढाई बजेतिर लाइन लाग्न आइपुगे ।

बिहान उज्यालो हुँदासम्म सहकारी अगाडि झण्डै एक हजारभन्दा बढी किसान हातमा बोरा बोकेर उभिइसकेका थिए । कोरोना भाइरसको बढ्दो संक्रमणको समेत बेवास्ता गर्दै किसानहरु मलका लागि उभिएको दृश्यले सरकारलाई गिज्याइरहेको थियो । भरतपुर वडा नं. ५ मा कोरोना संक्रमितसमेत भेटिएकाले सहकारी यसअघि एक साता बन्द गरेर खोलिएको सहकारीका अध्यक्ष कृष्ण चापागाईले बताए ।

चितवनका विभिन्न सहकारी अगाडि हिजोआज यस्तै ठूल्ठूला भिडहरु देख्न पाइन्छ ।

यो सहकारीले सोमबार जम्मा ६० बोरामात्रै मल बाँडेको अध्यक्ष चापागाई बताउँछन् । ‘हाम्रोमा माग ६ सय बोराको छ, अहिलेसम्म जम्मा ८० बोरा बाड्यौं, आफ्नै शेयर सदस्यहरुले समेत मल पाउनुभएको छैन’ चापागाईले भने, ‘मल पाउने आशामा किसानहरुको हैरानी देख्दा निकै दुःख लाग्छ । फोन गर्नुहुन्छ, छैन भनेर पठाउनुपर्ने अवस्था छ ।’

आइतबार रातिदेखि मल लिन सहकारीमा लाइन लागेका किसानमध्ये सहकारीका शेयर सदस्य २२५ जनाले १० केजी र सहकारी बाहिरका १५० जना किसानले ५ केजीका दरले मल पाए । लाइनमा बसेका झण्डै ५ सय किसान भने रित्तै हात घर फर्किए ।

सहकारी र ज्ञान केन्द्रवीच आरोप–प्रत्यारोप

सहकारीका अध्यक्ष चापागाईले मल उपलब्ध गराउने निकायले पक्षपातपूर्ण व्यवहार गरेको बताए । ‘कुनै सहकारीलाई एक हप्तामा नै दुईपटक मल दिएर बाँडेको पनि देखियो, कसैले पाएकै छैनन्’ उनी भन्छन्, ‘यो त राज्यको निकम्मापन हो नि । पहुँच हुनेहरुले पाइरहेकै छन् ।’

उता कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल किसानले मल समयमा र भनेजति नपाएको सत्य भए पनि पहुँच भएकालाई बढी दिएको भन्ने आरोप गलत भएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *