माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १३ माघदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरिसकेको छ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर कम्पनीले निष्कासन गरिसकेको छ ।
त्यसैगरी कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन दिन माग गर्न लागेको हो ।
कम्पनीको आईपीओमा १७ माघसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि २७ माघसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले संखुवासभामा १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । कम्पनीको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १३ लाख ४२ हजार २८१ रुपैयाँ ९० पैसा रहेको छ भने आयोजनाको कुल अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ।