यसरी जोगाउन सकिन्छ पानीमा खसेको स्मार्टफोन

सूचना प्रविधि

सावधानी अपनाउँदा अपनाउँदै वा कुनै बेला असावधानीले हाम्रो मोबाइल पानीमा खस्न पुग्छ । कहिलेकाँही ध्यान नपुर्‍याउँदा  फोनमा पानी पोखिएको घटना तपाईंसँग पनि भएको होला ।

मोबाइल पानीमा पर्‍यो भने आत्तिएर सबैभन्दा पहिला हामी फोनको सबै बटनहरूले काम गरिरहेका छन् कि छैनन् भनेर हेर्छौ र फोन झट्कारेर भित्र पसेको पानी बाहिर निकाल्ने प्रयास गर्छौ अथवा सुकाउने प्रयास गर्छौ । यसो गर्दा फोनलाई झन् समस्यामा पार्न सक्छन् ।

फोन पानीमा खस्यो भने के गर्ने ?

तपाईँको फोन पानीमा पर्ने बित्तिकै सबैभन्दा सुरुमा त सकेसम्म छिटो पानीबाट निकाल्नु पर्छ । त्यसपछि सबैभन्दा पहिलो काम भनेको फोनको स्विच अफ गरिदिनुहोस् र मोबाइलका अन्य कुनै पनि बटनहरू जथाभावी दबाउने गल्ती नगर्नुहोस् ताकि तपाईँको फोनमा कुनै शर्ट सर्किट नहोस् । यदि तपाईँले मोबाइलमा कभर राख्नु भएको छ भने उक्त कभर पनि झिक्नुहोस् । हुन त अचेलका फोनहरूमा ब्याट्री झिक्न मिल्दैन ।

तर यदि तपाईं अहिले पनि कुनै पुरानो मोडेलको फोन चलाइरहनु भएको छ र फोनको ब्याट्री झिक्न मिल्छ भने तुरुन्तै ब्याट्री निकाल्नुहोस् ।पानीमा डुबेको फोन सुकाउनको लागि तातो चिजको छेउ लाने अथवा ड्रायर प्रयोग गरेर सुकाउने प्रयास नगर्नुहोस् । यसले मोबाइलका विद्युतीय पार्टपुर्जा बिगार्न सक्छ । यसको साटो फोनलाई एउटा नरम सफा कपडाले पुछ्नुहोस् र मोबाइलमा रहेको सिम स्लट, चार्जिङ पोर्ट र एयरफोन ज्याकबाट भित्र पानी नपसोस् भनेर मुखले नै विस्तारै सोसेर पानी बाहिर निकाल्ने कोसिस गर्नुहोस् ।

बल गरेर भित्रतर्फ फुक्नु भने हुँदैन यसो गर्दा उल्टै मोबाइल भित्र पनि पानी पस्न सक्छ । हामीबीच सबैभन्दा चल्तीमा रहेको उपाय भनेको फोनलाई चामलमा राख्नु हो ।

चामलले पानी सोस्ने भएको हुदाँ यो उपायले केही मद्दत भने अवश्य गर्न सक्छ । यद्यपि चामलले पनि फोन भित्रको सबै पानी सोस्न चाहिँ सक्दैन ।

पूर्ण रुपमा पानी बाहिर आएन भने यसले अर्को समस्या पनि निम्त्याउन सक्छ । त्यसमाथि चामलका साना दानाहरू फोनको पोर्टबाट भित्र पस्न सक्छन् । यसको लागि फोनलाई एउटा टिस्यु पेपरमा बेरेर चामको बोरामा राख्न सक्नुहुन्छ ।

तर कहिलेकाहीँ समस्या गम्भिर पनि भइदिन सक्छ । यस्तो अवस्थामा भने नजिकको मोबाइल पसलमा गएर आफ्नो फोन देखाउँदा राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *