बागमती प्रदेशले गत वर्षदेखि सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत यस बर्ष तारकेश्वर नगरपालिकाका दुई विद्यालय छनोट भएका छन् ।
विद्यालयमा नर्स राखेर विद्यार्थीहरुलाई स्वस्थ जीवनशैलीका बारेमा अध्यापन गर्ने र प्राथमिक उपचारको व्यवस्था विद्यालयमै गर्ने योजना अनुरुप बागमती प्रदेशले विद्यालय नर्स कार्यक्रम सुरु गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले यस वर्षदेखि विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्न तानपाका दुई विद्यालय छनोट गरेको हो । वडा नं १० मा रहेको श्री मानसिंह धर्म माध्यमिक विद्यालय र वडा नं २ मा रहेको श्री कालिदेवी माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू हुन लागेको हो ।
मन्त्रालयले तयार गरेको एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६ अनुसार स्थानीय तहले सिफारिस गरि पठाएका विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था रहेको छ । सोही अनुसार प्रदेश सरकारले तारकेश्वर नगरपालिकाका दुई विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।