श्रीराम फुटुङ्गेको नंया कृति “फुटुङ्गः इतिहास, संस्कृति र विकास” नामक पुस्तक सार्वजनिक

कला-साहित्य स्थानीय

दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेद्वारा लिखित  “फुटुङ्गः इतिहास, संस्कृति र विकास” नामक पुस्तक विमोचन गरिएको छ । काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक विमोचन समारोहका प्रमुख अतिथि इतिहासकार एवम् लेखक प्रा. डा. राजेश गौतम ,अतिथिहरु विकास अर्थशास्त्री प्रा. डा. केशवराज खड्का, साहित्यकार लब गाउँले, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्सालको हातबाट एकसाथ पुस्तक विमोचन गरिएको थियो ।

प्रमुख अतिथि इतिहासकार प्रा. डा. राजेश गौतमले पुस्तकले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरि यथेष्ट विषय पस्केको बताउनुभयो । पुस्तक एक प्रकारको साँस्कृतिक लघु विश्वकोषझैं लागेको गौतमको भनाइ थियो ।

                                                                                      पुस्तक विमोचन गरिदै

पुस्तक माथी समिक्षा गर्दै प्रा.डा. केशवराज खड्काले स्थानीय संस्कृति र विकासको पाटो पुस्तकमा सरल तवरमा प्रस्तुत गरेको बताउँदै पुस्तकले विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । पुस्तक स्थानीय विशिष्ट गन्थ्रको रुपमा आएको र अब अरु व्यक्ति पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्प्रेरणा मिलेको बताउनुभयो ।

विमोचन कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्सालले पुस्तकमा लेखकको अत्यन्तै मेहनत परेको र यो पुस्तकले समग्र तारकेश्वोर विकासमा टेवा पुग्ने बताउनु भयो । आगामी दिनहरुमा नगरवासीहरुले यस्ता अन्य कृती प्रकाशन गर्न अग्रसर हुँदा नगरपालिकाले विशेष सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

साहित्यकार लब गालँले , डा.घनश्याम पुडासैनी, उद्यमी एवं समाजसेवी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तिनारायण महर्जन लगायतका अन्य अतिथिहरुले लेखकको अधिक मेहनतले यो पुस्तक प्रकाशन सम्भव भएको र यो पुस्तकले फुटुङ्गलाई चिनाउन थप मद्दत गर्ने बताउँदै लेखकको प्रयासको सराहना गर्नुभयो ।

पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा  वर्तमान अवस्थाबारे सिलसिलेबार प्रस्तुतिको प्रयास समेटिएको लेखक फुटुङ्गेको भनाइ छ । उहाँका अनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने यो पुस्तकको लेखन २०६० साल तिरै सुरु गरेको तर विभिन्न कारणले लामो समय पछीमात्र पुस्तक तयार भएको हो । पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र साँस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश अनि क्रमशःशहर बन्दै गएको घटनाक्रमको चित्रण गरिएको छ । लेखक भन्नुहुन्छ- “यो पुस्तक वास्तवमा सबै फुटुङ्गवासीको साझा पुस्तक हो किनभने यसका लागि चाहिने तथा चाहिएका सूचना र जानकारीहरु उहाँहरुले नै उपलब्ध गराउनुभयो । आफुहरुले देखेका भोगेका कुराहरु सुनाउनु भयो र आज यो पुस्तक प्रकाशित हुन सम्भव भयो ।”

फुटुङ्ग क्षेत्रमानै पहिलो पटक गरिएको पुस्तक विमोचन कार्यक्रममा फुटुङ्ग एवम् तारकेश्वरका बौद्धिक वर्ग लगायत, साहित्यकार, लेखक, विकास प्रेमी  तथा राजनैतिकदलका प्रतिनिधि एवम् संचारकर्मी गरी करिब २०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

आम फुटुङ्गवासी तथा फुटुङ्गको बारेमा चासो राखी फुटुङ्गलाई माया गर्ने जोकोहीले पढ्नै पर्ने यो पुस्तक वतर्मान र भविष्यका लागि महत्त्वपूर्ण सूचनास्रोत तथा सन्दर्भ सामाग्रीको रूपमा रहने विश्वास गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *