स्याङ्जाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण घटना

राष्ट्रिय

बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओले चर्चा पाएको छ। बिहीबार दिउँसो २ बजेतिर भएको उक्त घटनाको भिडिओ स्याङ्जाको वालिङ नगरपालिकाको खेल मैदानको हो।

मैदानमा ‘वालिङ गोल्डकप फुटबल प्रतियोगिता’ चलिरहेको थियो।

क्यामरूनको एभिनियर एफसी र वालिङ एएफसी जुनियरबीचको खेल चलिरहेको थियो। त्यही बेला आकाशमा प्रभु एयरको हेलिकप्टर आयो। केही समयपछि खेल भइरहेकै मैदानमा अवतरण पनि भयो।

खेलाडी, आयोजक र दर्शकले हेलिकप्टरमा समस्या आएर आकस्मिक अवतरण गरेको हो कि भन्ने सोचे। तर हेलिकप्टर अनावश्यक रूपमा खेल मैदानमै अवतरण गरेपछि त्यहाँ केहीबेर तनाव सिर्जना भयो। स्थानीयले पाइलट रानेश डंगोल र यात्रुहरूमाथि हातपात गरे।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार त्यसरी अवतरण गर्न प्रभु एयरले कुनै अनुमति लिएको थिएन। न त सुरक्षा निकायलाई नै खबर गरेको थियो।

यसरी लापरबाही गरेको भन्दै प्रमुख जिल्ला अधिकारी क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरालाई पत्राचार समेत गरेको छ।

प्रभु हेलिकप्टरका प्रवक्ता नोबेल राजलवटलाई हामीले यसबारे सोध्यौं। उनका अनुसार पोखराबाट वालिङको लागि सवा २ बजे हेलिकप्टर उडेको थियो। हेलिकप्टरमा वालिङकै स्थानीयहरू सवार थिए।

‘वालिङकै स्थानीयबासी हुनुहुन्थ्यो। चार जनालाई लिएर पोखराबाट उडेको हो,’ उनले भने, ‘स्थानीय भएकै हिसाबले कहाँ अवतरण गर्ने भनेर उहाँहरू आफैंले समन्वय गरेको देखिन्छ।’

यात्रुहरूले नै उक्त खेल मैदानमा अवतरण गर्न दबाब दिएपछि घटना भएको उनले बताए। घटनाबारे सबै विवरण बुझ्न पाइनसकेको पनि उनको भनाइ छ। तर अवतरण गरेपछि पनि हातपातमै लाग्नु दुखद भएको उनी बताउँछन्।

‘स्थानीयले नै भनेअनुसार अवतरण गरेपछि घटना भयो। विस्तृत विवरण आउने क्रममा छ,’ उनले भने, ‘प्रशासनसँगको समन्वयबारे पनि मैले बुझ्नै पर्ने हुन्छ। तर अवतरण गरेपछि हातपात नै गर्नु राम्रो कुरा होइन। किन र के भएको हो भन्ने बुझ्नुपर्ने थियो। तर क्याप्टेनमाथि नै जाइलागे।’

यसरी हातपात भएपछि पाइलट डंगोललाई सामान्य चोट लागेको उनले बताए। घटनापछि उनी आफैंले हेलिकप्टर चलाएर पोखरा फर्किएका थिए।

पोखराकै एक अस्पतालमा उनले सामान्य उपचारपछि घर फर्किएको प्रवक्ता राजलवटले बताए।

वालिङ गोल्डकप आयोजकका अध्यक्ष लालबहादुर ज्वार्चनले भने हेलिकप्टरमा सवार चारै जना यात्रुले मादक पदार्थ सेवन गरेको आरोप लगाएका छन्।

‘चारै जनाले मापसे गरेका रहेछन्। हामी आयोजक हौं, त्यही खेल मैदानमा लगेर ल्यान्ड गर्नुस्, हामी छौं भनेर पाइलटलाई भनेका रहेछन्,’ अध्यक्ष ज्वार्चनले संचारकर्मीसँग भने, ‘त्यसरी प्रभावमा पारेर आफूहरू प्रमुख अतिथि हौं पनि भनेछन्। पाइलटलाई दबाब र प्रभावमा पारेको देखियो।’

पाइलट डंगोलले तोकिएकै ठाउँमा ल्यान्ड गर्ने बताए पनि यात्रुले जिद्दी गरेको उनले बताए। घटनापछि पाइलटलाई छाडिएको उनले बताए। यो घटनाबारे ती यात्रुहरूविरूद्ध प्रहरीमा जाहेरी दिएको तर उनीहरू घटनापश्चात भागेको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *