स्वादिलो मात्र नभइ पौष्टिकता र ओखतीले भरिपुर्ण बाँसको तामा

जीवनशैली

बर्षाकाे माैषम गाउँघरमा यतिबेला सागसब्जी लगायतका तरकारि प्रशस्त पाइन्छ । त्यसैले थरीथरीका तरकारीले जिब्रोको स्वाद फेर्ने समय हाे याे । स्वादिलाे अनि पाेसिलाे तरकारि मध्य एक हाे बाँसको तामा । बाँसको कलिलो टुसालाइ तामा भनिन्छ । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा वा लामो समय राखेर पनि खान सकिन्छ ।

बाँसको तामामा कुनै रासयनिक मलखाँद, विषादी मिसाउन जरुरी हुन्न र मिसाइदैन पनि। अर्थात यो शुद्ध, ताजा र पूर्ण जैविक हुन्छ । बाँस जता–ततै सजिलै हुर्कने वनस्पति हो । वास्तवमा बाँस आफैमा बहुउपयोगी र बहुगुणी वनस्पति हो । बाँस छिटै बढ्ने प्रजातिमा पर्छ । त्यसैगरी यसले वायुमण्डल शुद्धिकरणमा पनि खास भूमिका खेल्छ ।

बाँसको टुसालाई तामाको रुपमा विभिन्न व्यञ्जन बनाएर खान सकिन्छ । यसको सुप बनाएर खान सकिन्छ, भुटेर खान सकिन्छ, अन्य सागसब्जीमा मिसाएर खान सकिन्छ, अचार बनाएर खान सकिन्छ । अर्थात आफ्नो स्वाद अनुसार यसलाई थरीथरी परिकारमा तयार गर्न सकिन्छ । तामा, आलु र बोडीको झोलले त धेरैको जिब्रो लोभ्याउँछ । त्यसैगरी यसलाई सुख्खा भुटेर वा अचार बनाएर पनि स्वाद फेर्न सकिन्छ ।

स्वादको मात्र के कुरा, यो पौष्टिकताले पनि भरपुर तरकारी हो । बाँसको तामामा मूख्यतया भिटामिन ए, भिटामिन इ, भिटामिन बि, भिटामिन बि६, थायमिन, फोलेट, प्याटोथेनिक एसिड, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस, पोटाशियम, सोडियम, कपर, आइरन जस्ता तत्व पाइन्छ ।

बाँसको तामामा औषधिय गुण पनि हुन्छ । यसलाई लगभग २ हजार बर्षदेखि पारम्परिक चिनियाँ औषधिय सामाग्रीको रुपमा प्रयोग गरिदै आएको पाइन्छ । तिब्बती चिकित्सा पद्धतीमा यसलाई ‘तबाशीर’ वा ‘तवाशीर’ भनिन्छ । भारतिय पारम्परिक चिकित्सा पद्धतीमा बाँसको तामामा पाइने प्राकृतिक क्याल्सियमलाई ‘वंशलोचन’ भन्ने गरिन्छ ।

आधुनिक शोधमा के पाइएको छ भने, बाँसको तामाबाट केही स्वास्थ्य लाभ मिल्छ । यसमा पाइने एमिनो एसिडमा उचाई बढाउने र गर्भाशय स्वास्थ राख्ने गुण हुन्छ । बाँसमा युटरोटोनिक नामको तत्व पाइन्छ, जो गर्भाशयको संकुचन बढाउन उपयोगी हुन्छ ।

यसमा पाइने भिटामिन इ ले छालालाई स्वास्थ राख्न मद्दत गर्छ । भिटामिन इ ले हाम्रो लागि एक एन्टिअक्सिडेन्टको काम गर्छ । यसले छालाको कोशिलाई फ्री रेडिकल्सको प्रभावबाट बचाउँछ ।बाँसको तामाले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । साथै यसमा हुने फाइटोन्यूट्रिएन्ट्सले हृदयको कार्यप्रणालीलाई राम्रो बनाउँछ ।

एक अध्ययन अनुसार बाँसको तामामा पाइने फाइटोस्टेरोल्स र फाइटोन्यूट्रिएन्ट्सले शरीरको खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसका साथै बाँसको तामा पोटाशियम हुन्छ, जसले रक्त प्रवाह एवं हृदयको गति सन्तुलित राख्न मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *