२०७९ सालको पात्रो तयार , माघ १५ गतेदेखि बजारमा आउने

जीवनशैली राष्ट्रिय

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ ।

आगामी वर्षको लागि समितिले १४ वटा पात्रो (पञ्चाङ्ग)लाई बजारमा ल्याउन स्वीकृति दिएको छ । तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला,  तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र  खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रोलाई स्वीकृति दिने निर्णय गरिएको हो ।

समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ ।  भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्रश्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ । त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ । कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष विवाहका ५६ वटा लगन जुरेको छ । जबकि २०७८ सालमा जम्मा ३१ वटा मात्रै लगन जुरेको थियो ।  वैशाखमा मात्रै विवाहको १७ वटा लगन जुरेको छ । त्यस्तै, जेठमा ११ दिन, असारमा ५ दिन, मंसीरमा ८ दिन, माघमा ६ दिन, फागुनमा ९ दिन विवाहको लगन छ । त्यस्तै वैशाखमा व्रतबन्धको दुईवटा लगन छ ।  जेठमा २, असारमा २, मंसीरमा २, माघमा २, फागुनमा २ र चैतमा एक दिन ब्रतबन्धको लागि लगन रहेको छ ।

२०७६ सालसम्म पुस अन्तिम साता नै पात्रो प्रकाशन भइसक्थ्यो । गत वर्षदेखि कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले प्रकाशन ढिला हुन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *