तारकेश्वर नगरपालिका वडा नं. २ काभ्रेस्थली बदेली क्षेत्रमा अनाधिकृत जग्गा प्लटिङ कार्यप्रति स्थानीयवासीले गम्भीर असन्तोष जनाएका छन ।
सार्वजनिक सम्पत्ति, खोला,राजकुलो र दीर्घकालीन पूर्वाधारमा अतिक्रमण गरी मनपरी कार्य भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन ।
स्थानीयको भनाइअनुसार, खोला र राजकुलोको प्राकृतिक सीमा मिच्दै पक्की पर्खाल निर्माण गरिएको छ । सो कार्य नगरपालिकाको आधिकारिक अनुमति वा वडाको सिफारिस बिनै गरिएको छ। अझ अचम्मको कुरा, मध्य बर्खा याममै डोजर प्रयोग गरेर गरिएको कार्यका कारण वातावरणीय जोखिम बढेको मात्र नभई, वर्षौंदेखि चलिआएको सिंचाइ कुलो समेत भत्काइएको छ ।
“यो कार्यले वातावरणीय सन्तुलन मात्र होइन, हाम्रो खेतीपाती र जीवनयापनमा प्रत्यक्ष असर पारेको छ,” एक स्थानीय कृषकले गुनासो गर्दै भने, “स्थानीय सरकार भनिएको वडा तथा नगरपालिका बेखबरझैं बसेको अवस्था झन् दुःखद छ ।”
यससँगै नगरपालिकाको बजेटमा निर्माण भएको ढलान सडक पनि भारी मेसिनरी प्रयोगका कारण छोटो अवधिमै चर्किएको र भत्किएको छ। यसले सार्वजनिक स्रोतको सदुपयोगबारे प्रश्न उठाएको स्थानीयको टिप्पणी छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र पर्ने वडा नं. १ र २ को सीमाना हुँदै चुनी चौर कालीदेवी विद्यालय जाने बाटो माथि पनि जग्गा सम्याउने तथा प्लटिङ गर्ने कार्य भइरहेको छ। यस क्रममा स्थानीयले प्रयोग गर्दै आएको सिंचाइ कुलो समेत बिग्रिएको छ।
विशेषज्ञहरूको भनाइमा यस्ता संवेदनशील क्षेत्रमा प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन बिना गरिएको निर्माण कार्यले दीर्घकालीन क्षति पुर्याउने सम्भावना हुन्छ। तर स्थानीय सरकार भने मौन देखिएको छ ।
स्थानीयवासीले व्यक्तिगत स्वार्थका लागि सार्वजनिक सम्पत्तिको संरक्षण र दीगो विकासलाई बेवास्ता गरिएको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन ।