सेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनी १० प्रतिशत बढे

अर्थ बजार

आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो ।

वित्तीय प्रणालीको घट्दो ब्याजदर सँगै अधिक तरलताले धितोपत्र बजारमा लगानी बढेको देखिन्छ । फागुनमा तोकिएको निर्वाचन हुने नहुने द्विविधाका कारण लगानी बढाउन नसकेका लगानीकर्ताले प्रधनमन्त्रीले चुनावका लागि राजनीतिक परामर्श बढाएसँगै सकारात्मक देखिएका छन् ।

ब्याजदर न्यून भएको अवस्थामा समेत कर्जाको माग बढ्न नसकेको अवस्था छ । वित्तीय प्रणालीको पछिल्लो अवस्थालाई सेयर लगानीकर्ता धितोपत्र बजारमा लगानी बढाउन अवसरको रुपमा प्रयोग गर्न थालेपछि त्यसको सकारात्मक असर नेप्सेमा देखिएको हो ।

आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से कारोबार बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरुहुँदा २६००.३८ अंकमा रहेको नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुगेको छ नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ४.४१ अंकले बढेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका अधिकांश समहुगत सूचक बढेका छन् । व्यापार बहेक सबै समूहगत सूचक सकारात्मक रहे । समग्र नेप्से सूचक १.१८ प्रतिशतले बढेको हो ।

आइतबार नेप्सेमा २ सय ५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

नेप्सेमा कारोबार भएका समूगत सूचकमध्ये बैंकिङ ४.०२, विकास बैंक ४९.६३, वित्त ११६.०८, होटल ७५.९४, जलविद्युत ३९.९५, लगानी ०.८४, जीवन बीमा ५५६.८६, उत्पादन मुलक ७०.३५, माइक्रोफाइनान्स ६७.८८, समुहिक लगानी कोष ०.०२, निर्जीवन बीमा १४५.७४ र अन्य समूह २९.१४ अंकले बढेका छन् । तर, व्यापार समूह भने ४२.५८ अंक घटेको छ ।

आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा ३ सय १९ कम्पनीको ६८ हजार एक सय १२ वटा कारोबारबाट ९ अर्ब २० करोड ३१ लाख रुपैयाँ बराबरका २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम गत साताको अन्तिम दिन बिहीबारको तुलनामा धेरै हो । गत बिहीबार नेप्सेमा ५ अर्ब ५९ करोड रुपैयाँ बरारको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

आइतबार नेप्सेमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, पिपुल्स पावर र तेह्रथुम पावर गुहेश्वरी मर्चेन्ट बैंकको  सेयर मूल्य १० प्रतिशत बढ्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन बैंक (संस्थापक), युनियन हाइड्रोपावर, बुटवल पावर, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *