अस्पतालले मृत घोषणा गरेको शिशु जीवित!

राष्ट्रिय शिक्षा/स्वास्थ्य

डाक्टरले नवजात शिशुलाई मृत घोषित गरेपछि घरपरिवारमा रुवाबासी त हुने नै भयो शिशुको आमाको हालत कल्पना बाहिरको स्थितिमा रहेको थियो।

बुधबार कोसी अस्पतालको आकस्मिक कक्षका डाक्टर आकाश यादवले बिरामी शिशुलाई मृत घोषित गरेपछि शिशुको परिवारमा ठुलो कोलाहल मच्चियो।

१८ दिनको शिशुले कुनै चाल नदिएपछि बुधबार बिहान विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न शिशुकी आमा उमा मुखियाले ल्याइन्। मोरङ जहदा गाउँपालिका–३ भाथीगछ घर भएकी मुखियाले आकस्मिक कक्षमा उपचारका लागि ल्याएपछि त्यहाँ ड्युटीमा रहेका डाक्टर आकाश यादवले शिशुलाई चेकजाँच गरेपछि मृत घोषित गरे।

पुस १७ गते नर्मल डेलिभरीमार्फत १ केजी ४ सय ग्राम तौल भएकी छोरी (शिशु) लाई मुखियाले जन्म दिएकी थिइन्। जहदा घर भई विराटनगर–८ मा माइती घर भएकी मुखिया सुत्केरी भएपछि माइती घरमै बस्दै आएको बताइन्। बुधबार बिहान चाल नभएपछि (अचेत) भएपछि श्रीमानसँगै शिशुलाई उपचारका लागि ल्याएको बताउँदै, उमाले भनिन्, ‘मेरो श्रीमान् दिलीप मुखिया एम्बुलेन्स चालक हुनुहुन्छ। उहाँ र म भएर बच्चालाई कोसी अस्पताल ल्याएका थियौँ। त्यहाँ रहेको डाक्टरले सामान्य हेरेर बच्चा मरिसक्यो लैजानु भने।’

डाक्टरले बच्चा मरिसक्यो लैजान भन्न साथ म रोए र श्रीमानले मलाई समातेको सामान्य मात्रै थाहा छ। त्यसपछि के भयो केही थाहा पाइन।’ उमाले भनिन् ‘बच्चा मरेको छैन किन रोएको। यहाँ बच्चा रुँदै जिउ चलाउँदै छ। तुरुन्त अस्पताल लगौँ भन्न थाले परिवारका सदस्यले। अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना गरेको हो।’ उनले भनिन।

डाक्टरले बच्चा मरिसक्यो भनेपछि श्रीमती र घरपरिवारका मान्छेहरू रुन थालेको बताउँदै, शिशुका बुवा दिलीपले भने, ‘बच्चाको खबर सुन्नासाथ श्रीमती रुन कराउन थालेपछि मैले समाल्न थालेँ। जेठानी दिदी (श्रीमतीको दिदी) ले बोकेर बाहिर ल्याउनु भयो। डाक्टरले नै मरिसक्यो भनेपछि त्यहाँ राख्ने कुरो पनि भएन र मृत्युपछि गर्ने संस्कारका लागि बच्चालाई घर ल्यायौँ।’

घर ल्याएर दाहसंस्कारको तयारी गर्दै गर्दा बच्चा एक्कासि रुँदै जिउ चलाउन थालेपछि हामी सबै जना छक्क परेको बताउँदै, दिलीपले भने, ‘छोरी रुन र हातखुट्टा चलाएको देखेपछि घरमा एक खालको सन्नाटा छायो। कोसी अस्पताल नजिकै रहेको निजी अस्पताल गोल्डेन अस्पताल हतार हतार गर्दै लग्यौँ र एनआइसियूमा भर्ना गरेर उपचार भइरहेको छ।’

यो भन्दा ठुलो लापरबाही के हुन्छ? यस्तो डाक्टरले के उपचार गर्छन्? यस्तै यस्तै लापरबाहीका कारण सरकारी अस्पताल बदनाम भएको बताउँदै दिलीपले भने, ‘जिउँदोलाई मरेको घोषणा गर्ने डाक्टरलाई कसले के कारबाही गर्छ र? यहाँ यस्तो घटना कति भए होलान्। हिजो राति (मंगलबार) बच्चालाई आमाले दूध खुवाएकी थिइन्। बुधबार बिहान दूध खुवाउन खोज्दा बच्चाले कुनै चाल नदिएपछि कोसी अस्पतालमा ल्याएका थियौँ।’

मृत्यु नभएको शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवलाई आक्रोशित भीडले कुटपिट गर्दा घाइते भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *