एमालेको पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलमा सारिदै

राष्ट्रिय समाचार स्थानीय

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि. स. २००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । स्थापना दिवसको अवसरमा नेकपा एमालेले दिउँसो १ बजे कार्यक्रम आयोजना गर्यो । यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलमा सार्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता हुने कार्यक्रममा कम्युनिस्ट योद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिकको कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । स्थापना दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।

‘आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो,’ उनले भने । नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन् ।

उनीहरूले भारतको कलकत्तामा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ मा पहिलो पटक कम्युनिस्ट पार्टी सत्तामा पुगेको थियो ।

मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रम अन्तर्गत वृद्धा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ लगायत कार्यक्रम लोकप्रिय बन्यो ।

त्यसपछि भने कम्युनिस्ट पार्टीहरूले पटकपटक सत्तारोहरण गरिसकेका छन् । तर उनीहरूले भन्दै आएको सर्वहारा वर्गको जनजीविकाको सवालमा भने परिवर्तन आएको छैन । जसले गर्दा कम्युनिस्ट पार्टीहरू आलोचित छन् ।

अधिकारीबाहेक कम्युनिस्ट नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिस्ट कित्ताबाट केही वर्षअघि अलग भएका डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसकेका छन् । तर, अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकारले अघि सारेका कार्यक्रमहरू अझैसम्म लोकप्रिय छन् । जसको राजनीतिक लाभ ओली नेतृत्वको नेकपा एमालेले दिँदै आएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले भने १० वैशाख २००६ लाई स्थापना भएको मिति मान्ने भएको छ । स्थानीय तह निर्वाचन २०७९ को घोषाणापत्रको पृष्ठभूमिमै एकीकृत समाजवादीले नेकपाको स्थापना १० वैशाख २००६ मा भएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *