कांग्रेस निर्वाचनको प्रतीक्षामा, सरकारको तयारीमाथि शंका : शेखर कोइराला

राष्ट्रिय

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते निर्वाचन हुनुपर्ने बताएका छन्। आफ्नै निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँगको भेटघाटका क्रममा उनले निर्वाचन नै प्रजातन्त्रको आधार भएको उल्लेख गर्दै कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताए।

कोइरालाले संविधानको संरक्षण र मुलुकलाई संक्रमणबाट जोगाउन निर्वाचन अपरिहार्य भएको धारणा राखे। ‘संविधान बचाउने र देशलाई संक्रमणबाट जोगाउने उपाय निर्वाचन मात्रै हो। हामी निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत पैदा भएको छ,’ उनले भने।

सरकारले निर्वाचनको आवश्यक वातावरण बनाउन नसकेको आरोप लगाउँदै उनले सुरक्षा र व्यवस्थापनमा गम्भीर प्रश्न उठाए। ‘केही दलका नेताहरूलाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू पनि बाहिरै छन्। यी विषयमा सरकारले के सोचिरहेको छ ?’ उनले प्रश्न गरे।

कोइरालाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई एकजुट भएर तयारीमा जुट्न समेत निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *