फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काठमाडौं जिल्ला समितिले काठमाडौं निर्वाचन क्षेत्र नं. ६ बाट चिरञ्जीवी ढकाललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
ढकाल माओवादी आन्दोलनबाट हुर्किएका, संघर्षशील तथा जनआधारित राजनीतिका नेता हुन् । उनी विगत झण्डै २४ वर्षदेखि राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। विशेषगरी विद्यार्थी आन्दोलनमार्फत राष्ट्रिय राजनीतिमा स्थापित ढकाल संगठन निर्माण, आन्दोलन नेतृत्व र वैचारिक प्रशिक्षणमा अनुभवी नेताका रूपमा परिचित छन् ।
विद्यार्थी राजनीतिमा उनले अखिल (क्रान्तिकारी) नेतृत्व तहमा रहेर देशव्यापी संगठन विस्तार, शैक्षिक अधिकारका सवाल तथा राजनीतिक परिवर्तनका एजेन्डामा सक्रिय भूमिका निर्वाह गरेका थिए । आन्दोलनका क्रममा पटक–पटक राज्य दमन, गिरफ्तारी र दबाबको सामना गर्दै पनि आफ्नो राजनीतिक प्रतिबद्धताबाट पछि नहटेका ढकाललाई संघर्षशील नेताका रूपमा चिनिन्छ ।
लामो राजनीतिक यात्रामा उनले पार्टी संगठन मजबुत बनाउने, जनसमस्या पहिचान गरी आवाज उठाउने र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने कार्यमा निरन्तर योगदान पुर्याउँदै आएका छन्। सरल जीवनशैली, स्पष्ट विचार र निष्ठावान आचरण उनका मुख्य विशेषता मानिन्छन् ।
उम्मेदवार सिफारिसपछि प्रतिक्रिया दिँदै ढकालले काठमाडौं जिल्ला पार्टीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भने,
“राजनीतिक जीवनका यी वर्षहरूमा मैले जे सिकेँ र जे सिक्दै जानेछु, मेरो सम्पूर्ण ज्ञान, क्षमता र जीवन नै देश र जनताको हितमा समर्पित गर्नेछु ।”
आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ मा माओवादी पार्टीको जनसम्पर्क, संगठनात्मक शक्ति र राजनीतिक प्रभाव अझ सुदृढ हुने अपेक्षा गरिएको छ । पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय तहका जनताले ढकालको उम्मेदवारीलाई सकारात्मक रूपमा लिँदै चुनावी तयारी तीव्र बनाएका छन् ।
