कोशी प्रदेश सरकार पुनर्गठन अन्तिम चरणमा, आज साँझ मन्त्रिपरिषद् विस्तार र शपथ

राष्ट्रिय समाचार

कोशी प्रदेश सरकारको पुनर्गठन अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्ने तयारी गरेका छन्।

नयाँ मन्त्रीहरूको शपथ ग्रहण आजै साँझ ४ बजे हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिएका छन्।

नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्री फेरबदल गर्ने सहमति जुटेसँगै १० जना मन्त्रीहरू परिवर्तन हुन लागेका हुन्। सचेतक तामाङका अनुसार कांग्रेसले प्रदीप सुनुवारको नेतृत्वमा चार जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा पठाउने निर्णय गरेको छ।

कांग्रेसतर्फबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बु स्वास्थ्य, इस्राइल मन्सुरी कृषि तथा भीम पराजुली पर्यटन तथा वन वातावरण मन्त्री बन्ने भएका छन्। साथै शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ।

यसैगरी एमालेले पनि आफ्ना मन्त्रीहरूको नाम र जिम्मेवारी टुङ्गो लगाएको छ। एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन तथा रामकुमार महतो सामाजिक विकास मन्त्री बन्ने भएका छन्।

एमालेकै उमाकान्त गौतमलाई मुख्यमन्त्रीको कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ। सत्तारुढ दलहरूबीच भएको पछिल्लो सहमति अनुसार दुवै दलले दुई–दुई जना राज्यमन्त्री राख्ने समझदारी गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको औपचारिक सूचना प्राप्त नभए पनि आवश्यक तयारी अवस्थामा रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *