नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौमा २३ मा निलम्बन गरेको थियो । त्यसपछि गत असोज २० गते पक्राउ परेका लामिछाने पर्पक्षका लागि थुनामा थिए । तर पाटन उच्च अदालतले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।
उनलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबारै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको थियो । तर यता पोखरामा बसेको बैठकले भने लामिछानेमाथिको निलम्बन फुकुवाको निर्णय गरेको हो । निलम्बन फुकुवाकोबारे क्यानले औपचारिक रुपमा धारणा बाहिर ल्याइसकेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टिममा समावेश गर्ने नगर्ने वा नेपालको तर्फबाट खेल्न अनुमति हुने नहुनेबारे स्पष्ट भइसकेको छैन ।
उनको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म निलम्बन फुकुवा गर्न नहुने दबाब थियो । नेपाल टि-२० लिगमा म्याच र स्पट फिक्सिङ भएको कुरा बाहिरिएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतका गतिविधिमाथि क्यानभित्र तीव्र विरोध हुँदै आएको छ । क्यानका सात जना सदस्यले चन्द लगायतको राजीनामा माग गरिरहेका छन् । मंगलबार भएको बैठकमा समेत उनीहरुले अहसमति जनाएका छन् ।
यस्तो अवस्थामा क्यानले सन्दीप लामिछानेको निलम्बन फुकुवाको विवादास्पद निर्णय गरेको हो ।