तत्कालीन आईजीपी खापुङको बयान जारी : जेनजी घटना

समाचार

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाशप्राप्त) चन्द्रकुवेर खापुङको बयान उच्चस्तरीय जाँचबुझ आयोगमा जारी छ। २३ र २४ भदौमा भएको घटनाको छानबिनका लागि गठित आयोगले बिहीबार सिंहदरबारस्थित कार्यालयमा खापुङसँग बयान लिएको हो।

जेनजी घटना भएको समयमा खापुङ नै प्रहरी महानिरीक्षक थिए। उक्त घटनामा प्रहरीको गोली लागेर २३ भदौमा २२ जनाको मृत्यु भएको थियो। सो घटनामा प्रहरीले अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको आरोप र आलोचना हुँदै आएको छ।

आयोगका अनुसार यसअघि फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको विवरण माग्दा खापुङले अटेर गरेका थिए। त्यस क्रममा उनले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको जवाफ पठाएका थिए। उक्त जवाफपछि आयोगले उनलाई ५ सय रुपैयाँ जरिवाना गर्ने तयारीसमेत गरेको थियो। त्यसपछि मात्रै आवश्यक विवरण उपलब्ध गराइएको आयोगको दाबी छ।

आयोगले घटनासँग सम्बन्धित अधिकांश पक्षको बयान संकलन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ। अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारी भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *