दसैंसम्मै निषेधाज्ञादेखि नाकामा सेना परिचालन गर्नुपर्ने उपत्यकाका सिडिओको सुझाव

राष्ट्रिय

रामकुमार प्याकुरेल
काठमाडौं

काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रमुख अधिकारीरूले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरूले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरूको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन्।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए। उनले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए।

अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरू आवतजावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए।

उनले भने, ‘सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि करिब दुई हजार मान्छेलाई हामीले काठमाडौं भित्र्याउनै पर्छ। यदि दुई हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने हो भने यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ। त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ।’

अनाववश्क मान्छे हिँडडुल गर्ने कुराका लागि सीमामा कडाइ गर्नुपर्ने उनले बताए। ‘सीमामा कडाइ गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ। नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँ न के फरक पर्छ र भनेर डिसिसिएमसीबाट निणर्य गरेर माथि पठाइयो तर सिसिएमसीमा त्यो कुराको सुनुवाइ नभएको हो कि,’ दाहालले भने।

दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभइ प्रहरीले धेरै काम गर्नुपर्दा नभ्याएको हुनाले सीमा नाकाको निगरानी कमजोर भएको बताए। सडकका जँड्याहालाई उठाउनेदेखि सुन चोरसम्मलाई पक्राउ गर्ने काममा प्रहरीलाई भ्याइनभ्याइ भएकाले सिमानामा नेपाली सेनालाई नै खाटाउनुपर्ने उनले बताए।

भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन्। उनले भनिन्, ‘हामीलाई कस्तो दवाव आउँछ बुझ्नुपर्ने, निणर्यक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाकाभन्दा उता गाडि ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृत्ति पनि देखिन्छ।’

योजनावद्ध रुपमा मानिसहरूलाई उपत्यकाभित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनले बताइन्। मान्छेलाई आउनै दिन्न भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने उनले बताइन्।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए। चाडपर्वको समयमा मानिसहरूको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए। ‘अब हाम्रो अगाडि चाडवाडहरू आइरहेका छन्। दसैंजस्तो ठूलो चाड आएको छ। मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ। त्यो अहिले हामीले व्यहोरिरहेका छौं। दसैंमा पनि त्यस्तो हुन सक्छ। त्यसो भएको हुनाले दसैंसम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाए पनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ,’ उनले भने।

नगरपालिका मेयर फोरमका सचिव एवम् मध्यपुरथिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए। बिहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *