नियुक्तिपत्र बुझे संगै कार्यकारी निर्देशकमा पदबहाली गर्दै कुलमान

राष्ट्रिय

कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङ फेरि प्राधिकरणमा फर्किएका हुन् । २०७३ सालमा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङले यसअघिको कार्यकालमा देशलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।

गत साउन १९ गते नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले शाक्यलाई सरकारले उचित जिम्मेवारी दिने गरी निर्णय गर्ने भन्दै शाक्यलाई प्राधिकरणबाट भने विदा हुन आग्रह गरेकी थिइन् ।

सोहीअनुसार घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *